काठमाण्डौ । दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा पनि प्रदर्शन भएको छ। बुधबार ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’को आह्वानमा आयोजित प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए।
प्रदर्शनकारी विद्यार्थीहरूको मार्च पटनाको गान्धी मैदानस्थित गेट नम्बर १० बाट सुरु भएर राजभवनतर्फ अघि बढेको थियो। तर, गान्धी मैदान नजिकैको जेपी गोलम्बरमा प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीका तर्फबाट अश्रुग्यासका दुईवटा गोला प्रहार गरिएको बताइएको छ।
प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो। प्रहरीले प्रदर्शनकारीबाट ढुंगामुढा भएको आरोप लगाएको छ। प्रहरीको अवरोधका बाबजुद विद्यार्थीहरू जेपी गोलम्बरबाट अघि बढ्दै डाक बंगला चौराहासम्म पुगेका थिए।
प्रदर्शनकारीहरूले सञ्चारमाध्यमविरुद्ध समेत नाराबाजी गरेका थिए। सोही क्रममा केही सञ्चारकर्मी घाइते भएको विवरण सार्वजनिक भएको छ। पछि केही व्यक्तिको सहयोगमा सञ्चारकर्मीहरूलाई भीडबाट सुरक्षित स्थानमा लगिएको थियो।
दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा अन्य राज्यमा पनि प्रदर्शन हुन थालेपछि आन्दोलन थप विस्तार हुँदै गएको देखिएको छ।

