काठमाण्डौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको छ । यो क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द ग्िरने भएको हो ।
यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म लम्बाइएको हो ।
दाउन्ने क्षेत्रमा आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने छ । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।
नारायणघाट–बुटवल खण्डको ११४ किलोमिटरमध्ये १०० किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र पहाडको भित्ता काट्ने काम भईरहेको छ ।
गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।