काठमाण्डौ । भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१०, ११,१२, १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४, ५ र ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।
उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि मंगलबार वन तथा वातावरण मन्त्रालयमा छलफल गरी राय सुझाव लिइएको छ । बैठकमा भौतिक विज्ञ शिवराज अधिकारी, जैविक विज्ञ गोपालकुमार श्रेष्ठ, सामाजिक, आर्थिक र सांस्कृतिक विज्ञ राजनऋषि कँडेल र माछा विज्ञ सन्तोषी श्रेष्ठलगायत अन्य विषयगत निकायका प्रतिनिधीले प्रतिवेदन उपर राय सुझाव दिएका थिए ।
यो आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने यसको लागत ४६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।