काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई दशैंखर्च उपलब्ध गराउने भएको छ ।
दशैंअघि नै घोषित लाभांश वितरणको उद्देश्यले बैंकले असोज १० गतेका लागि आफ्नो २७ औं वार्षिक साधारणसभा बोलाएको हो ।
बैंकले पोखराको होटल पोखरा ग्राण्डमा सो दिन बिहान ११ बजे साधारणसभा आह्वान गरेको छ ।
साधारणसभामा सञ्चालक समितिले यसअघि गरेको चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित थप ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरी पारित गरिनेछ ।
यो वर्षको फूलपाती असोज १३ गते छ। यसको अर्थ बैंकले १० गते वार्षिक साधारणसभा गरी असोज १३ गतेसम्म सेयरधनीलाई नगद लाभांश पठाइसक्नेछ ।
बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिसेयर रु. १०० का दरले रु. ३ अर्ब रुपैयाँ बराबरको ८.२५ माछापुच्छ्रे अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने अजेण्डा समेत पेश हुनेछ । बैंकको अधिकृत पूँजी १५ अर्बलाई बढाएर २० अर्बलाई पुर्याउने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा सञ्चालकको बैठक भत्ता बढाउने प्रस्ताव समेत विशेष अजेण्डाको रुपमा पेश हुँदैछ ।