काठमाण्डौ । गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी फिर्ता गरेको छ।
आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा, प्रहरीबाट प्राप्त उक्त जाहेरी फिर्ता गरिएको जानकारी दिएको छ। भदौ २३-२४ गतेको घटनामा जेनजी पुस्ता आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध पक्राउ र कारबाहीको माग गर्दै जाहेरी दिएका थिए।
मृतक रसिक खतिवडाका पिता पुरूषोत्तम खतिवडा लगायत ४ जनाले असोज २१ गते प्रहरीमा जाहेरी दिएका थिए, जसलाई प्रहरीले आयोगमा पठाएको थियो।
विज्ञप्तिमा आयोगले स्पष्ट पारेको छ कि फौजदारी घटनाको विस्तृत अनुसन्धान र अभियोजन अघि बढाउने अधिकार जाँचबुझ आयोगको कार्यक्षेत्रमा पर्दैन।

