काठमाण्डौ । व्यवसायी दीपक भट्ट पक्राउ प्रकरणपछि हिमालय-रि इन्स्योरेन्सलाई नियामकले समस्याग्रस्त घोषणा गर्ने भ्रमहरु छरिएसँगै कम्पनीले मुख खोलेको छ ।
केही मिडियाहरुले हिमालयन-रि समस्याग्रस्त हुँदैछ भनेर लेखेको र त्यसकै आधारमा लगानीकर्ताहरुले धारणा बनाउन थालेपछि फैलिएको भ्रमलाई चिर्न कम्पनीले औपचारिक रुपमा मुख खोलेको हो ।
कम्पनीका कार्यकारी निर्देशक तथा सूचना अधिकारी शिशिर गैरे र कम्पनी सचिव तथा कार्यकारी निर्देशक सन्तोष केसीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरु पक्राउ पर्दैमा कम्पनीको कार्य सञ्चालन, वित्तीय अवस्था तथा ग्राहक र सरोकारवालाप्रति रहेका दायीत्वहरु पूरा गर्ने कम्पनीको क्षमतामा कुनै प्रभाव नपरेको प्रष्ट पारेका छन् । 'यस हिमालयन रिइन्स्योरेन्स लिमीटेडको बलियो बित्तीय अवस्था, स्वस्थ तरलता अनुपात तथा उच्च जोखिम व्यवस्थापनले गर्दा नियामकीय मापदण्डहरु सहज रुपमा पूरा गर्न सक्षम छ र कम्पनीको वित्तीय सूचकहरु सुरक्षित र सुदृढ रहेका छन् ।' विज्ञप्तिमा भनिएको छः'यस कम्पनीका आउने सबै दाबी तथा दायीत्वहरु नियमित प्रक्रियाअनुसार निरन्तर रुपमा भुक्तानी भइरहेका छन्, र कम्पनीले आफ्ना प्रतिबद्धताहरु पूरा गर्दै आफूलाई सवल र सक्षम कम्पनीको रुपमा स्थापित गरेको छ ।'
कम्पनीको व्यवसायिक गतिविधिहरु स्थिर तथा अवरोधरहित रुपमा सञ्चालन भइरहेका उल्लेख गर्दै उच्च व्यवस्थापकीय अगुवाईमा सम्पूर्ण कर्मचारीहरुमार्फत पूर्ण रुपमा सञ्चालित रहेको प्रष्टाइएको छ ।
'कम्पनी स्वस्थ अवस्थामा छ ।' विज्ञप्तिमा अगाडि भनिएको छः 'कुनै कार्यकारी पदाधिकारीको अस्थायी अनुपस्थिति वा विदेश भ्रमणले कम्पनीको सञ्चालन वा सुशासनमा कुनै असर नपारेको र नपर्ने कुरा समेत जानकारी गराउन चाहन्छौं ।'


