काठमाण्डौं । कलंकीस्थित सहिद मेमोरियल अस्पताल मा कार्यरत स्टाफ नर्स तथा स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको न्यूनतम तलब लागू गर्न माग गर्दै आन्दोलन शुरु गरेका छन्।
अस्पताल प्रशासनले सरकारी मापदण्डअनुसार पारिश्रमिक नदिएको आरोप लगाउँदै उनीहरूले शुक्रबार बिहानदेखि अस्पताल परिसरमै धर्ना र प्रदर्शन थालेका हुन्।
आन्दोलनरत नर्सहरूका अनुसार हाल उनीहरूले मासिक करिब १९ हजार रुपैयाँ मात्र तलब पाइरहेका छन्।
तर, सरकारले स्टाफ नर्सका लागि न्यूनतम ३४ हजार रुपैयाँ तलब निर्धारण गरेको भएपनि सो निर्णय अस्पतालले कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ।
उनीहरूले तलब संरचना दीर्घ समयदेखि यथावत राखिएको र महँगीसँग तालमेल नमिलेको गुनासोसमेत गरेका छन्।
आन्दोलनमा सहभागी स्वास्थ्य सहायक भुपेन्द्र खत्रीका अनुसार नर्सहरूको माग कुनै अतिरिक्त सुविधा वा विशेष लाभसँग सम्बन्धित नभई सरकारले तोकेको कानूनी तलबमान लागू गर्न मात्र केन्द्रित छ।
उनले भने, “हामीले बढी मागेका होइनौँ, सरकारले तोकेको तलब कार्यान्वयन गर्न मात्र आग्रह गरेका हौँ।”
शुक्रबार बिहान करिब ४० जना कर्मचारीहरू एकत्रित भई अस्पताल परिसरमा शान्तिपूर्ण रूपमा नाराबाजी, धर्ना तथा प्लेकार्डसहितको प्रदर्शन गरेका छन्।
उनीहरूले काम रोक्ने भन्दा पनि आफ्नो श्रमको उचित मूल्य सुनिश्चित गर्न दबाब सिर्जना गरेको बताएका छन्।
नर्स तथा स्वास्थ्यकर्मीहरूले अस्पताल प्रशासनसँग यस विषयमा पटक–पटक छलफल र अनुरोध गरेपनि कुनै ठोस निर्णय वा कार्यान्वयन नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको दाबी गरेका छन्।
उनीहरूले न्यूनतम तलब कार्यान्वयनसँगै कामको वातावरण सुधार, समयमै पारिश्रमिक भुक्तानी र श्रमिक अधिकारको सम्मान गर्न माग गरेका छन्।
आन्दोलनरत पक्षले अस्पताल प्रशासनसँग औपचारिक वार्ता नभएसम्म आन्दोलन जारी रहने संकेत दिएका छन्।
यस घटनाले निजी तथा अर्धसरकारी स्वास्थ्य संस्थामा सरकारी तलबमान कार्यान्वयनको विषय पुनः बहसमा आएको छ, जसले स्वास्थ्य क्षेत्रका श्रमिकहरूको अवस्था र नीति कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

