काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम यस्तो निर्देशन दिएको हो । बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरीबाट उत्पादित उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरू मापदण्डभन्दा बढी भेटिएको विभागले जनाएको छ ।
यस्तै विभागले उक्त डेरीबाट उत्पादित ब्याच नम्बर सीओ२ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न र बिक्री वितरणमा रोक लगाउने् निर्णय समेत निर्देशन दिएको छ ।

