काठमाण्डौ । लामो समयदेखि सेयर लगानीकर्ता नेपाल राष्ट्रबैंकको नीतिका कारण प्रताडित थिए । केन्द्रीय बैंकले लिएको गलत नीतिको शिकार धेरै लगानीकर्ता भएका थिए भने कतिपय त पलायन नै भइसकेका छन् । आफ्नो कार्यकालभरि सेयरबजारप्रति नकारात्मक बनेकै कारण पूर्व गभर्नर महाप्रसाद अधिकारीले कार्यकालभरि कैयन आलोचना व्यहोर्नुपर्यो । अधिकारीपछि गभर्नर बनेका डा. विश्व पौडेलले भने निराशाको बादलले घेरिएका लगानीकर्तामा आशा जगाउने काम गरिदिएका छन् । जसको लगानीकर्ताहरुले समेत खुलेरै समर्थन गरेका छन् ।
डा. पौडेल गभर्नरमा नियुक्त भएको केही दिनमै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षा आज सार्वजनिक गरिएको छ । जहाँ सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने घोषणा गरिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि यसले लगानीकर्ताको मनोबल बढाउने र यसकै कारण बजारमा हरियाली छाउनसक्ने विश्लेषण हुन थालेको छ ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले लगानीकर्ताहरुको लामो समयदेखिको माग पूरा भएको प्रतिक्रिया दिंदै बिजशालासँग भने -'यसले सकारात्मक सन्देश गएको छ । अब बिस्तारै अन्य माग पनि पूरा हुने आशा गर्न सकिने भएको छ ।'
क्लबहाउसमा बोल्दै लगानीकर्ता प्रकाश पन्तले पनि मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सकारात्मक भएको बताए ।
अरु केही लगानीकर्ताहरुले भने 'हिजोको दिनमा राष्ट्रबैंकले बिगारेको परिस्थिति आज राष्ट्रबैंकले भने सुधारेको' भन्दै खुशी प्रकट गरेका छन् ।
सक्रिय लगानीकर्ता गोबिन्दप्रसाद घिमिरेले नयाँ गभर्नरले बजारका लागि 'बोल्ड डिसीजन' गरेका दाबी गरे । उनले अगाडि भनेका छन्-'मौद्रिक नीतिको समीक्षा निकै सकारात्मक छ । यो सेयर बजारका लागि टर्निङ प्वाइन्ट बन्ने भयो । यसले लगानीकर्ताको मनोबल बढाएको छ। अब सेयर धितो कर्जामा लगाइएको क्याप पनि खोलिनुपर्छ । ब्याजदर न्यून बिन्दुमा रहेको छ । अहिले जोखिम नभएर नै जोखिमभार हटाएको हो । अब सेयर बजारका सुनौला दिन आउने भए ।'
अर्का, सक्रिय लगानीकर्ता टेकेन्द्र थपलियाले पनि लगानीकर्ताहरुको लागि नयाँ गभर्नरले सकारात्मक सन्देश दिएका बताए । उनले प्रजातान्त्रिक धारको गभर्नर आएपछि सुधारको संकेत देखिएको समेत दाबी गरे । उनले थपे-' आशाको संकेत देखियो । गभर्नर भोलिका दिनमा समेत बजारमैत्री हुँदै जान्छन् भन्ने आजको समीक्षाबाट बुझियो । लगानीकर्ताको भावना बुझेर महत्वपूर्ण माग पूरा गरिदिएकोमा गभर्नरलाई विशेष धन्यवाद !'