काठमाण्डौ । सेयर बजारमा प्रायः लगानीकर्ताहरुले सम्झौतापत्र पढ्ने गरेको पाइँदैन । पढिहाले ता पनि सही छाप नगरी वा खाता नखोलि कोहि पनि फर्केको पाईदैन । हालसम्म तीन चरण गरेर ब्रोकरहरुलाई लाइसेन्स वितरण गरियो । तर तिनै चरणमा आएका ब्रोकरहरुमा फरक–फरक सम्झौतापत्र भेटिएका छन् ।
यसै विषयमा समाचार बाहिरिए पछि भने नेपाल स्टक एक्सचेञ्जले ब्रोकर र लगानीकर्ताहरुबीच भएको सम्झौतापत्रमा एकरुपता ल्याउने बताएको छ । यहि उद्देश्यले नेप्सेले एक परिपत्र जारी गर्ने भएको छ । हाल ब्रोकरपिच्छे फरक–फरक सम्झौतापत्र भेटिएपछि नेप्सेले सबै ब्रोकरहरुलाई परिपत्र जारी गर्दै एकरुपमा ल्याउन लागेको हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार हाल विभिन्न ब्रोकरहरुबाट नमुना संकलन गर्ने कार्य भएको छ । अधिकांश नमुनामा पुरानै र फरक–फरक सम्झौतापत्र लगानीकर्ताहरुलाई दिँदै आएको भेटिएको छ । ब्रोकर र लगानीकर्ताबीचको सम्झौता धितोपत्र विनियमावली २०७५ को संसोधित कानून अनुसार हुनुपर्ने पराजुली बताउँछन् । तर ब्रोकरहरुले लगानीकर्तालाई दिएको सम्झौतापत्रमा त्यस्तो भेटिदैन ।
राजधानीका ठूला ब्रोकरहरुले भने अझै पनि पुरानै सम्झौतापत्र लगानीकर्ताहरुलाई दिदै आईरहेका छन् । अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) र इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) ले लगानीकर्ताहरुलाई पुरानै सम्झौतापत्र दिएका छन् । यस ब्रोकरले बुँदा नम्बर ३८ मा लेनदेनको विषय उल्लेख गरेता पनि पालना गरेको भने पाइदैन ।
त्यसैगरि भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) ले भने बुँदा नम्बर ११ मा ७ वटा बुँदा थपेर सम्झौतापत्र बनाएको छ । यसरी हेर्दा ठूला ब्रोकहरुमा नै लगानीकर्ता र ब्रोकरहरुबीच हुने सम्झौतामा भिन्नता देखिएको छ । यसै विषयलाई मध्यनजर गर्दै नेप्सेले अब सबै ब्रोकरहरुका लागि एकै किसिमको सम्झौतापत्र बनाउन ब्रोकरहरुलाई निर्देशन दिने भएको छ ।
.jpg)
