काठमाण्डौ । नेप्सेले नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) मार्फत सेयर खरिद बिक्री गर्दा ख्याल राख्नुपर्ने कुराहरूका बारेमा जानकारी राख्न आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
-नेप्सेको सदस्यताप्राप्तधितोपत्र दलाल कम्पनी / शाखाबाट नट्स प्रयोग गर्नका लागि युजर नेम (USERNAME) र पासवर्ड (PASSWORD) निःशुल्क प्राप्त गर्न सकिन्छ । धितोपत्र दलाल कम्पनीहरूको नाम, ठेगाना र फोन नम्बर नेप्सेको वेबसाइट www.nepalstock.com मा उपलब्ध छ ।
-लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने माध्यम टिएमएस हो, जसबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेश प्रविष्ट गराउन सक्छन् । प्रविष्ट गरिएको आदेशको हरेक अवस्थाको जानकारी Order Book मा गई प्राप्त गर्न सकिन्छ ।
-अनलाइन युजरले ब्रोकरमार्फत वा आफैँले खरिद-बिक्री आदेश प्रविष्टि गरी कारोबार गर्न सक्छन् ।
-लगानीकर्ताको एउटा हितग्राही खातालाई ब्रोकरसँग खोलिएको एउटा कारोबार खातासँग मात्र आबद्ध गरेपछि नट्समा कारोबार गर्न सकिन्छ । राफसाफ तथा फस्र्योटसम्बन्धी कार्यसमेत यसैबाट हुन्छ ।
-कारोबार गर्नका लागि ग्राहकले आफ्नो ब्रोकरसँग धितो जम्मा गर्नुपर्छ । धितो जम्मा गरेको लगानीकर्तालाई कारोबार सीमा (Trading Limit) प्रदान गर्छन्, सोही कारोबार सीमाको अधिनमा कारोबार गर्न सकिन्छ ।
-कारोबार सीमा तथा धितोपत्र खरिदपछिको राफसाफ तथा फस्र्योट कार्यका लागि लागि टिएमएसबाट क्लियरिङ बैंकको e-Banking Portal मा गई लगानीकताले ब्रोकरको Account मा Fund/Collateral Transfer गर्न सक्छन् । नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध बैंक तथा वित्तीय संस्थाबाट पनि यो सुविधा लिन सकिन्छ ।
-धितोपत्र बिक्रीपश्चात् www.meroshare.cdsc.com.np मार्फत MY EDIS खोली Transfer share गर्नुपर्ने हुन्छ । यसरी Transfer share गरेपश्चात् मात्र धितोपत्रको राफसाफ गर्न सम्भव हुन्छ ।

