काठमाण्डौ । इरानको इस्लामिक रिभोलुसनरी गाड कर्प(आईआरजीसी) ले स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरूलाई तेहरानको पूर्वस्वीकृति तथा समन्वयबिना कुनै नयाँ समुद्री मार्ग प्रयोग नगर्न कडा चेतावनी दिएको छ। आईआरजीसीले त्यस्ता मार्गहरूलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै निर्देशन उल्लंघन गर्ने जहाजविरुद्ध कारबाही हुन सक्ने संकेत गरेको छ।
आईआरजीसी नौसेनाले इरानले तोकेका मार्गहरू मात्र प्रयोग गर्नुपर्ने र जहाजहरूले निर्धारित सञ्चार माध्यममार्फत इरानी सुरक्षाकर्मीहरूसँग अनिवार्य रूपमा समन्वय गर्नुपर्ने जनाएको छ। इरानले तोकेका समुद्री मार्गबाहिरको यात्रा अत्यन्त जोखिमपूर्ण रहेको भन्दै त्यसबाट टाढा रहन सबै जहाजलाई आग्रह गरेको छ।
यो चेतावनी एक समुद्री सुरक्षा सूचना समूहले ओमानको जलक्षेत्र नजिकको दक्षिणी मार्ग प्रयोग गर्न सिफारिस गरेपछि आएको हो। उक्त मार्ग बारुदी सुरुङको जोखिमबाट मुक्त रहेको दाबी गरिएको थियो। तर इरानले आफ्नो स्वीकृतिबिना सञ्चालन हुने कुनै पनि वैकल्पिक मार्ग स्वीकार्य नहुने स्पष्ट पारेको छ।
यसबीच, युद्धविराम र अमेरिका–इरान समझदारीपछि स्ट्रेट अफ हर्मुज हुँदै हुने जहाज आवागमनमा केही सुधार देखिएको छ। यद्यपि यातायात अझै पनि युद्धपूर्व अवस्थाभन्दा निकै कम रहेको र अधिकांश जहाज सञ्चालकहरू सावधानीपूर्वक सञ्चालनमा फर्किरहेको बताइएको छ।
यदि इरानले स्ट्रेट अफ हर्मुजमाथि प्रभावकारी नियन्त्रण कायम राखिरह्यो भने विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दीर्घकालीन असर पर्न सक्ने जनाइएको छ । विशेषगरी कच्चा तेल ढुवानी पूर्ववत् स्तरमा फर्किन समय लाग्ने र अन्तर्राष्ट्रिय जहाज सञ्चालकहरूमा अनिश्चितता कायम रहने सम्भावना रहेको उनीहरूको भनाइ छ।
स्ट्रेट अफ हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिन्छ, जहाँबाट विश्वको ठूलो हिस्सा कच्चा तेल तथा प्राकृतिक ग्यासको समुद्री ढुवानी हुने गर्दछ।

