काठमाण्डौ । भारतीय पक्षले गुणस्तर परीक्षणको प्रक्रिया सहज बनाएपछि झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको भारततर्फको निर्यात पुनः शुरु भएको छ।
सरकारको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काँकडभिट्टा नाका हुँदै चिया निकासी पुनः शुरु भएको हो।
सोमबार इलामको अर्थोडक्स चिया बोकेका दुई ट्रक भारततर्फ गएका छन्।
निर्यात अवरुद्ध हुँदा इलामका उद्योगमा करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो।
अब निकासी सहज भएपछि व्यवसायीहरूले नयाँ खेप पनि पठाउन थालेका छन्।
नयाँ व्यवस्थाअनुसार नेपालबाट भारत जाने प्रत्येक पाँच खेपमध्ये एक खेप ९२० प्रतिशत० चियाको मात्रै नमूना परीक्षण हुनेछ।
यसअघि प्रत्येक गाडीको अनिवार्य परीक्षण गरिँदा निकासी ठप्प भएको थियो।
सरकारले समस्या समाधानका लागि अन्तर–निकाय समिति गठन गरी भारतसँग निरन्तर समन्वय गरेको थियो।
यद्यपि, पानीट्यांकी भन्सारमा परीक्षण प्रयोगशाला नहुँदा नमूना कोलकाता पठाउनुपर्ने बाध्यता भने अझै कायम छ।
व्यवसायीहरूले निकासी खुलेसँगै भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको बताएका छन्, तर दीर्घकालीन रूपमा निकासी पूर्ण रूपमा सहज हुने विषयमा भने अझै सतर्क रहनुपर्ने बताएका छन्।

