शुक्रबार, श्रावण १,२०८३ 03:00:27
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 03:00:27
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित

कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
New Office

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभाबाट पारित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट बुधबार आवश्यक छलफलपछि पारित भएको हो।

पारित बजेटअनुसार कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापन शीर्षकमा १५ करोड रुपैयाँ छुट्याइएको छ।

बजेट पारित हुनुअघि सत्ता पक्षभित्रै असन्तुष्टि चुलिएको थियो। बजेट मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित भएको, विनियोजनमा सन्तुलन नमिलेको तथा सांसदहरूले सिफारिस गरेका योजनालाई बेवास्ता गरिएको भन्दै सत्ता पक्षीय सांसदहरूले पुनर्लेखनको माग गर्दै हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका थिए। त्यसका कारण प्रदेश सभामा बजेटमाथिको छलफलसमेत प्रभावित बनेको थियो।

प्रदेश सभामा उत्पन्न गतिरोध अन्त्य गर्न आर्थिक मामिला तथा योजनामन्त्री लिङ्थेपले बजेट निर्माणका क्रममा भएका कमीकमजोरी स्वीकार गर्दै साउनको तेस्रो साताभित्र बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएका थिए। त्यसपछि मात्रै बजेटमाथिको छलफल अघि बढेको थियो।

मन्त्री लिङ्थेपले करिब एक अर्ब रुपैयाँबराबरको बजेट समायोजन गरी विनियोजनमा देखिएको असन्तुलन सच्याइने बताएका छन्। यसका लागि विभिन्न मन्त्रालयका योजनाबाट रकम कटौती गरिनेछ।

सरकारको प्रस्तावअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ५० करोड रुपैयाँ, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट १०/१० करोड रुपैयाँ, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ५/५ करोड रुपैयाँ, साथै आन्तरिक मामिला तथा स्वास्थ्य मन्त्रालयबाट २/२ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिनेछ।

यस्तै, विभिन्न मन्त्रालयबाट सङ्कलन हुने ८४ करोड रुपैयाँ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत दोहोरिएका वा नाम–ठेगाना स्पष्ट नभएका योजनाबाट थप रकम व्यवस्थापन गरी करिब १ अर्ब रुपैयाँ बराबरको बजेट समायोजन गरिने जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.