काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन सेयरबजार खुलेदेखि नेप्से परिसूचक उकालो लागेको छ ।
लामो समयदेखि दबाबमा रहेको सेयरबजारले नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै सुखद संकेत दिएको छ । यसबेलासम्म नेप्से परिसूचक ५० अंकले भन्दा माथि बढेको छ ।
बजारमा हरियाली छाएपनि कारोबारमा भने उत्साह देखिएको छैन । सूचक हरियो रहेपनि कारोबार रकम र लगानीकर्ताको सहभागितालो बजारमा अझै उत्साह फर्किन नसकेको संकेत समेत गरेको छ ।
बजारमा सूचक बढ्नु सकारात्मक मानिए पनि कारोबार रकम (भोल्युम) कमजोर रहनुले अधिकांश लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ ।
बजार विश्लेषकहरूका अनुसार दिगो रूपमा बजारमा सुधार देखिन सूचकसँगै कारोबार रकम पनि बढ्न आवश्यक हुन्छ । उच्च कारोबार रकमले लगानीकर्ताको विश्वास र बजारमा नयाँ पूँजी प्रवेश गरेको संकेत गर्ने भएकाले भोल्युमको वृद्धि महत्त्वपूर्ण मानिन्छ ।
यद्यपि, बजार लगातार घट्ने क्रम रोकिएर सूचकमा सुधार देखिनु सकारात्मक संकेत भएको विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग करिब एक घण्टा छलफल गर्दै सेयर बजार र समग्र वित्तीय प्रणालीबारे चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री शाहको पछिल्लो सक्रियताबाट लगानीकर्ताको मनोबलमा परेको सकारात्मक प्रभावका कारण बजार उकासिएको अनुमान गरिएको छ ।
तर बजारमा अपेक्षित भोल्युम नआउँदा लगानीकर्ताहरु सेयर खरिदबिक्रीमा उत्साहित नदेखिएको बुझिन्छ । विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजदेखि दीर्घकालीन लगानीमा पूँजीगत लाभकर ७.५ प्रतिशत र अल्पकालीन कारोबारमा १० प्रतिशत पुर्याएको छ । सेयर बिक्रीमा लाग्ने कर वृद्धिले पनि बजारको भोल्युमलाई केही हदसम्म प्रभाव पारेको विज्ञहरुको भनाई छ ।

