काठमाण्डौ । नेकपा एमालेले संघीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
संसद्मा प्रस्तुत हुने विधेयक तथा समसामयिक विषयमा सांसदहरूले कसरी प्रभावकारी प्रस्तुति दिने र पार्टीको नीतिअनुसार आफ्नो भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुनेछन्। अध्यक्ष ओलीले सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाबारे निर्देशन दिने कार्यक्रम छ।
‘संसद्मा पेस भएका विधेयक तथा अन्य विषयमा एमाले सांसदहरूले कसरी असरदार प्रस्तुति दिने र पार्टीको नीतिअनुसार प्रस्तुत हुने भन्ने विषयमा छलफल हुन सक्छ,’ महरले भने।
बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाबारे प्रस्तुति दिनेछन्। संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसदीय प्रक्रिया, नियम र अभ्यासका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले तेस्रो ठूलो दल हो। प्रतिनिधिसभामा एमालेका १० महिला र १५ पुरुष गरी २५ सांसद छन्। कार्यक्रममा राष्ट्रियसभाका सांसदहरूलाई पनि बोलाइएको छ। राष्ट्रियसभामा एमालेका १० सांसद छन्।

