काठमाण्डौ । विपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे राष्ट्रियसभामा सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्ने भएका छन्।
राष्ट्रियसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बुधबार बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गर्न लागेको कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक पदम परियारले जानकारी दिए।
मनसुनका कारण हुन सक्ने बाढी, पहिरोलगायत विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी तथा व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रस्ताव ल्याउन लागिएको हो।
कांग्रेसको प्रस्तावमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन जनाएका छन्।
विपक्षी दलहरूले सरकारको विपद् व्यवस्थापन तयारी, उद्धार तथा राहत व्यवस्थापन प्रणाली प्रभावकारी बनाउन आवश्यक कदम चाल्न माग गर्ने तयारी गरेका छन्।

