काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो तेस्रो म्युचुअल फण्ड सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ ।
कम्पनीले गत चैत २७ गते ४० करोड रुपैयाँ बराबरको खुलामुखी योजना सार्वजनिक निष्कासन गर्न अनुमति पाएको हो । क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरको ४ करोड इकाई भएको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम योजना जारी गर्न स्वीकृति पाएको हो ।
क्यापिटलको यो खुलामुखी योजना हो । क्यापिटलका दुई बन्दमुखी योजनाहरुमा प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड दोस्रो बजारमा सूचीकृत छन् । लगानीकर्ताहरुले उक्त फण्डका इकाईहरु दोस्रो बजारमार्फत पनि खरिद गर्न सक्नेछन् ।
कम्पनीले बोर्डबाट खुलामुखी योजना सार्वजनिक निष्कासनको लागि अनुमति पाएको छ, तर यो योजना दोस्रो बजारमार्फत खरिद गर्न मिल्दैन । नेप्सेमा सूचीकृत नहुने खुलामुखी सामूहिक लगनी कोष योजनामा दोस्रो बजारमार्फत लगानी गर्न सकिँदैन ।
प्रभु क्यापिटलले खुलामुखी योजना निष्कासन गर्न बोर्डबाट स्वीकृत पाइसकेपनि सार्वजनिक निष्कासन गर्नका लागि मिति भने तोकिसकेको छैन । ४ करोड इकाई बिक्री गर्न क्यापिटलले सार्वजनिक निष्कासनको मिति तोक्नेछ ।
यदि कुनै लगानीकर्ता यस्ता खुलामुखी योजनाको सार्वजनिक निष्कासनको अवधिमा लगानी गर्न छुटेमा पनि अहिले क्यापिटलहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)ल्याएका छन् । जसमार्फत लगानीकर्ताहरुले ढुक्कसँग यस्ता खुलामुखी योजना लगानी गर्न सक्नेछन् ।
लगानीकर्ताले सेयर किनेजस्तै आफुसँग भएको लगानीले न्याभका आधारमा र एसआइपीमार्फत यस्ता इकाई पछि खरिद गर्न सक्नेछन् । यस्ता योजनाका इकाइ साना तथा मझौला लगानीकर्ताको हातमा पुर्याउनका लागि तिनको सञ्चालन गर्ने क्यापिटलहरुले एसआइपी योजना ल्याएका छन् ।
प्रभु क्यापिटलले पनि अब यो खुलामुखी योजना सार्वजनिक निष्कासन गरेपश्चात् साना तथा मझौला लगानीकर्तालाई मध्यनजर गर्दै एसआइपी योजना ल्याउनेछ ।
एसआइपी भनेको एउटा निश्चित समयसम्म नियमित रुपमा लगानी गर्ने योजना वा माध्यम हो । न्यूनतम एक हजार रुपैयाँबाट नै यस योजनामा आबद्ध हुन सकिनेछ । एसआइपीबापतको रकम मासिक, त्रैमासिक वा वार्षिक रुपमा भुक्तानी गर्न मिल्नेछ । साधारण व्यक्ति, कृषक, विद्यार्थी र गृहणीसम्मलाई यो योजना प्रभावकारी हुने ब्यवस्थापकहरुको भनाई छ ।
यस्ता योजनामा लगानी गर्दा व्यवस्थापकहरुले वर्षेनी प्रतिफल समेत बाँड्ने गर्दछ । आफुले कति लगानी गरेको त्यसकै आधारमा योजना व्यवस्थापकहरुले वार्षिक रुपमा प्रतिफल दिनेछ । लगानीकर्ताले त्यस्ता प्रतिफल सोझै बैंक खातामा प्राप्त गर्न सक्नेछन् वा चाहेको खण्डमा प्रतिफल बराबरको थप इकाई समेत खरिद गर्न सकिनेछ ।