काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी असार २ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मेर्चेन्ट क्यापिटलको समेत गत आवको वित्तीय विवरणहरु पारित गरिनेछ ।
लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले यही जेठ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।