काठमाण्डौं । इजरायलमा रोजगारीको पर्खाइमा रहेका नेपाली युवाहरूले वैदेशिक रोजगार प्रक्रियामा भएको ढिलाइ र अन्योलप्रति असन्तुष्टि जनाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
विगत दुई वर्षदेखि रोजगारी खुल्ने प्रतीक्षामा रहेका उनीहरूले सरकारी निकायको ढिलासुस्ती र अस्पष्ट नीतिका कारण आफूहरू अन्यायमा परेको गुनासो गरेका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरूका अनुसार वैदेशिक रोजगार विभागले इजरायल रोजगारी प्रक्रिया छिट्टै अघि बढ्ने भन्दै पटक–पटक आश्वासन दिएपनि हालसम्म स्पष्ट तथा आधिकारिक सूचना जारी नगरेको छ ।
उनीहरूका भनाइमा वि.सं. २०८१ मा गरिएको गोलाप्रथा प्रक्रियामा छनोट हुन नसकेका उम्मेदवारहरूलाई भविष्यमा खुल्ने कोटामा स्वतः समावेश गरिने प्रतिबद्धता सम्बन्धित निकायका अधिकारीहरूले व्यक्त गरेका थिए ।
सोही आश्वासनका आधारमा हजारौँ युवा लामो समयदेखि प्रतीक्षामा रहेका छन् ।
हाल सार्वजनिक भएका केही सूचनामा इजरायलका लागि करिब २३०० नयाँ कोटा खुल्ने र त्यसमा पुराना उम्मेदवारहरूले समेत पुनः गोलाप्रथामा सहभागी हुनुपर्ने उल्लेख भएपछि पीडित उम्मेदवारहरू थप आक्रोशित बनेका छन् ।
उनीहरूको भनाइमा वर्षौँदेखि प्रक्रिया पूरा गरेर पर्खिरहेका व्यक्तिहरूलाई फेरि नयाँ प्रतिस्पर्धामा समावेश गर्नु अन्यायपूर्ण र अव्यवहारिक हो ।
प्रदर्शनकारीहरूले वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा सम्बन्धित निकायमा पटक–पटक ज्ञापनपत्र बुझाउँदै आएका छन् ।
उनीहरूले पहिले नै आवेदन दिई योग्य ठहरिएका उम्मेदवारहरूका लागि छुट्टै कोटा सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
साथै, प्रक्रिया पारदर्शी र स्पष्ट नहुँदा युवाहरू निरन्तर अन्योलमा परेको भन्दै तत्काल निर्णय लिन सरकारसँग आग्रह गरेका छन् ।
युवाहरूले वैदेशिक रोजगारीलाई आफ्नो जीवनको महत्वपूर्ण अवसरका रूपमा लिएको उल्लेख गर्दै लामो प्रतीक्षा, आर्थिक खर्च र मानसिक तनावपछि पनि अन्योलमै बस्न बाध्य भएको बताएका छन् ।
उनीहरूले सरकारलाई छिटो, स्पष्ट र न्यायपूर्ण निर्णय गर्न दबाब दिएका छन् ।

