मंगलवार, श्रावण १२,२०८३ 01:06:45
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:06:45
Bizshala
Global IME Bank Limited

मेडिसिटीमा बिरामीको फ्लो ह्वात्तै घट्यो, अवस्था नसुध्रिए बन्द हुनसक्ने !

मेडिसिटीमा बिरामीको फ्लो ह्वात्तै घट्यो, अवस्था नसुध्रिए बन्द हुनसक्ने !
New Office

काठमाण्डौ । अभूतपूर्व आर्थिक संकटमा फसेको देशको निजी क्षेत्रमै सबैभन्दा बढी ७०० शैयाको नेपाल मेडिसिटी अस्पताल भद्रगोल बन्दै गएको छ ।  

चरम आर्थिक संकटमा फसेको यो अस्पतालको दैनिक क्यास फ्लो बिग्रिएपछि कर्मचारीहरुले समयमा तलब पाउन छाडेका छन् भने यसको प्रभाव बिरामीको फ्लो, कर्मचारीको संख्यादेखि अस्पतालको बाहिरी रुपमा समेत प्रष्ट देखिन थालेको छ ।  

नेपालका धनाढ्यमध्येका एक उपेन्द्र महतोको लगानी रहेको यो अस्पताल पछिल्लो समय आर्थिक संकटमा फसेको छ । बैंकहरुलाई ऋणको नियमित साँवाब्याज(किस्ता) समेत बुझाउन सकेको छैन भने यसको प्रभाव कर्मचारीको तलबभत्ताको भुक्तानीमा समेत देखिएको छ । 

अघिल्लो साता बिजशाला टिम अस्पताल परिसरमा पुगेर केही कर्मचारीहरुसँग कुराकानी समेत गरेको थियो। सो क्रममा अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले ३ महिनादेखि तलबभुक्तानी नभएको गुनासो गरेका थिए । उनीहरुले केही कर्मचारीको तबलभत्ता त ६ महिनादेखि रोकिएको समेत जानकारी दिए ।  

पिक आवरमा समेत सुनसान देखिएको क्याफटेरिया ।

‘अस्पताल आर्थिक रुपमा जर्जर भएका कारण धेरै स्टाफहरुले काम छाडिसके ।’ पहिलो तलाको क्याफ्टेरेयिामा भेटिएकी एक स्टाफ नर्सले नाम गोप्य राखिदिने शर्तमा भनिन्–‘७०० शैयाको अस्पताल भनेर बढी हल्लाखल्ला मात्र गरियो । अहिले ४० वटा बेड समेत दैनिक अकूपाई हुन मुश्किल भइरहेको छ । स्वास्थ्यकर्मी र कर्मचारीको अभावका कारण थोरै जनशक्तिले काम चलाउनुपर्ने अवस्थाका कारण बिरामी र तिनका आफन्तले पहिलाजस्तो चित्त बुझाउन छाडेका छन् । अस्पतालले लिन सेवा शुल्क यथावत छ, दिने सेवाको गुणस्तर चाहिँ घटेपछि र फितलो व्यवस्थापन देखिएपछि बिरामीहरु समेत आउन छाडेका छन् ।’ 

आइपिडी काउण्टर

ती स्टाफ नर्सले हामीसँग कुरा गरिरहँदा टिकट काउण्टर र ल्याब टेस्ट गर्ने ठाउँहरुको आफैंले भिजिट गर्न र त्यहाँको बिरामीको फ्लो हेर्न समेत सुझाएकी थिइन् । उनको भनाई थियो–‘टिकट काउण्टर र ल्याब तथा बिरामी भर्न लिने ठाउँमा गए पुग्छ, अस्पतालको फ्लो र विजिनेश हेर्न । पछिल्लोकालमा बिजोग अवस्था छ ।’  

उनको सुझावपछि हामीले पनि मुख्य ओपिडी टिकट काउण्टर, आइपिडी काउण्टर, ल्याब लगायतमा भिजिट गर्यौं । नभन्दै साच्चिकै कम बिरामीको फ्लो ती क्षेत्रमा देखियो । बिरामीको भीडभाड कुन हदसम्म पातलिएको छ भन्ने कुरा क्याफ्टेरिया तथा आसपासको दृश्यले पनि देखाउथ्यो ।

सुनसान ओपिडी टिकट काउण्टर ।

हामीले सो अस्पतालको विभिन्न तलामा रहेको वाड तथा स्पेशल बेड रहेका क्षेत्रमा समेत भिजिट गर्यौं । जहाँ करिब १५ प्रतिशत बेडहरु मात्र अकूपाई रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।  

यो अस्पताल निकै अत्याधुनिक उपकरण र सेवासहित सुरु गरिएको थियो । तर, अस्पताल सुरु भएको ८ वर्ष नबित्दै बन्द हुने संघारमा पुगेको छ ।  

ल्याब

क्यास फ्लो बिग्रिएका कारण समयमै भुक्तानी नहुँदा चिकित्सकदेखि स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले समेत विकल्प पाएपछि काम छाड्न थालेका छन् ।

असन्तुष्ट बिरामी

अस्पतालको गुणस्तरीय सेवामा देखिएको तीव्र ह्रासका कारण बिरामीहरुमा समेत असन्तुष्टि देखिएको छ । 

सो अस्पतालमा आफ्ना बुबालाई उपचारका लागि बेड भर्ना गराएका नेपाल सरकारका एक सहसचिव तहका कर्मचारीले बिजशालासँग कुरा गर्दै भनेका छन्–‘मेडिसिटीको सेवा पछिल्लो समय निकै खस्किएको पायौं । पहिलाजस्तो कर्मचारीहरु पनि यथेष्ठ रहेनछन्, मेरो बाबाले ‘यो अस्पतालको सेवा साह्रै नराम्ररी खस्किएछ, यस्तोमा बस्नै सक्दिँन भनेपछि मैले २ दिनमै अन्यत्र सानुपर्यो । मेडिसिटीको पहिलाको साख अहिले बर्बाद भइसकेछ।’  

बिजशाला टिम एक दिनभर अस्पताल बस्दा गफिन तयार भएका अन्य बिरामीका आफन्त पनि आफूहरुले पाएको सेवाबाट असन्तुष्ट देखिए । ‘अब मेडिसिटी पहिलाको जस्तो मेडिसिटी रहेनछ । पछिल्लो समय किन यति साह्रो बिग्रियो यसको सेवा ? अचम्म लागेको छ ।– ललितपुरबाट दूधे बालकको उपचार गराउन आएकी एक महिलाले भनिन् ।  

अस्पतालको रुप नै बिग्रिन थाल्यो

आर्थिक अभावका कारण अस्पतालको सरसफाई, लुक्स लगायतमा समेत प्रभाव परेको प्रष्ट देख्न सकिन्छ ।  

आर्थिक संकट हुँदा अमेरिकामा ट्वाइलेट पेपरको हाहाकार मच्चिने कथा त सुनिएकै हो, मेडिसिटीमा अहिले ठ्याक्कै त्यस्तै भएको अर्का एक कर्मचारी बताउँछन् । अस्पतालका वासरुमहरु पहिलाजस्तो निट एण्ड क्लिन हुन छाडेको छ । ‘ट्वाइलेट पेपर हटाउन र नर्मल ह्याण्डवास मात्र राख्न माथिको निर्देशन छ ।’ एक सफाई कर्मचारीले भनिन्–‘पहिलाजस्तो सफा गर्ने सामान नै दिन छाडे ।’  

मेन्टेनेन्सको अभावमा कुरुप बनेको भवनको बाहिरी लुक्स ।

यो अस्पतालको मुख्य भवनको बाहिरी रंगरोगन नराम्ररी बिग्रिएको पनि महिनौं भइसक्यो । पहिला पहिला बाहिरी रुपमा पनि फोकस गरी चिटिक्क बनाउने अस्पताल व्यवस्थापनले आर्थिक अभावकै कारण भवनको बिग्रिएको रुपमा रंगरोगन गर्न नसकेको कर्मचारीहरु दाबी गर्छन् ।

अझ उनीहरुको दाबीलाई मान्ने हो भने पहिला–पहिला निःशुल्क गरिएको पार्किङको शुल्क समेत उठाउन थालिएको छ । यसको पछाडि कारण पनि आर्थिक अभाव नै रहेको उनीहरु दाबी गर्छन् ।  

अस्पतालको पछिल्लो भद्रगोल अवस्था र आर्थिक संकटको विषयमा कुराकानी गर्न उपेन्द्र महतोलाई सम्पर्क गर्दा कुराकानी गर्न तयार भएनन् । अस्पतालका महाप्रबन्धक विजय रिमालसँग कुराकानी गर्न समय मागियो, उनले ‘केहीबेरपछि खबर गर्छु’ भने पनि पछि सम्पर्कमा आएनन् ।

यसअघि प्रकाशित सम्बन्धित समाचार :

गम्भीर आर्थिक संकटमा फस्यो नेपाल मेडिसिटी अस्पताल, राम्रा चिकित्सक बाहिरिँदै

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.