काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १७.४४ अंकले बढेर २ हजार ६९२.१८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले बढेर ४६१.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।अघिल्लो दिन बजारमा ६ अर्ब ५२ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘बजारमा केही दिनयता पूँजीगत लाभकरको विषयले अन्यौलता छाएको छ । यही कारण बजार साइडवेजमा गएको देखिन्छ । यद्यपी आजको अवस्था हेर्दा बजार सम्हालिन थालेको देखिन्छ ।’
उनले अहिले राष्ट्र बैंक र अर्थमन्त्रालयले करको दरमा हेरफेर गर्ने र नीतिगत कडाइ गर्न नहुने बताए ।
अर्का बजार जानकार उपेन्द्र पाठकले पनि आज बैंकिङ क्षेत्रमा चमक आउदा बजार
मा सुधार आएको बताए । ‘करको विषयले केहीदिन देखि अन्यौलता रहेको बजारमा आज अन्तिम समयमा सम्हालिएको छ । यही कारण बजेट सकारात्मक नै आउने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक अर्थात १.७५ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत, हाईड्रो ०.७०, लगानी ०.०७,उत्पादन तथा प्रशोधन ०.५४,म्युचुअल फण्ड ०.११ र व्यापार समूह ०.३३ प्रतिशतले बढ्यो ।
आज घटेका समूहमध्ये जीवन बीमा समूह सर्वाधिक घट्यो । यो समूह आज ०.१८ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.०४ प्रतिशत,लघुवित्त ०.१४,निर्जीवन बीमा ०.०७ र अन्य समूह ०.०९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ५ करोड बढीको कारोबार भयो । राधी विद्युतको पनि आज ६० करोड ८ लाख, युनिभर्सल पावरको ५१ करोड ६ लाख, बुटवल पावरको ३५ करोड ६ लाख र कुमारी बैंकको २१ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र पियोर इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
अरुण काबेली हाईड्रोको सेयरमूल्य पनि आज ६.५२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.५८ प्रतिशतले बढ्यो ।
बाराही हाईड्रोका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीको सेयरमूल्य आज ६.८४ प्रतिशतले घट्यो । दिव्यश्वरी हाईड्रोको सेयरमूल्य पनि आज ४.८४ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ४.६२ प्रतिशतले घट्यो ।