काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको खुद नाफा १.६७ प्रतिशतले घटेको छ ।
चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८१ करोडढ २० लाख रुपैयाँ कम हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा आधा वाणिज्य बैंकको नाफामा सुधार देखिएको छ भने आधाको नाफामा संकुचन देखिएको छ । १० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको छ ।
बैंकको यो नाफा गत आवको तुलनामा २।५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, ग्लोबल आइएमईले ५ अर्ब ३५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्टले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड, एनएमबी बैंकले २ अर्ब ६२ करोड, प्राइम कमर्सियलले २ अर्ब ५८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराइजले २ अर्ब १५ करोड, सिद्धार्थले २ अर्ब १ करोड, प्रभु बैंकले २ अर्ब १४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड, सिटिजन्स बैंकले १ अर्ब १८ करोड, हिमालयन बैंकले ६८ करोड ३४ लाख, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ र एनआइसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा नेपाल बैंक अगाडी रहेको छ ।बैंकले ४५७।१२ प्रतिशतले नाफा ग्रोथ गरेको छ । सो अवधिसम्म १० वटा बैंकको नाफा गत आवको तुलनामा बृद्धि भएको छ ।
सबैभन्दा बढी नाफा घट्नेमा भने एनआइसी एशिया बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा ७७।८७ प्रतिशतले घटेको छ। एनआइसी एशिया बैंकसहित १० वटा बैंकको नाफा गत आवको तुलनामा घटेको छ ।
