काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक तीन महिना पछि २६ सय विन्दु तल झरेको छ । साताको पहलिो कारोबार दिन आज नेप्से परिसूचक १.२५ प्रतिशत अर्थात ३२.९३ अंकले घट्दै तीन महिनापछि २६ सय विन्दु तल बन्द भएको हो ।
यो गिरावटसँगै आज नेप्से परिसूचक २ हजार ५९५.९७ विन्दुमा झरेको छ । यसअघि नेप्से परिसूचक गत चैत १२ गते २६ सय विन्दुमाथि उक्लिएको थियो ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले घटेर ४४४.६० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘आजको बजारको घटाईको मुख्य कारण देशभित्रको भन्दा पनि अन्तर्राष्ट्रिय कारण हुन सक्छ । अमेरिकाले इरानमाथि बमबारी गरेसँगै सेयर बजार लगायतका क्षेत्रमा मनोवैज्ञानिक प्रभाव परेको छ । ’
लामो समय साइडवेज चलेको नेपाली बजारमा समेत यसले प्रभाव पारेको उनले बताए । आज हाईड्रो र होटल समूहमा करेक्सन आएको र अन्य क्षेत्र चल्न नसकेको उनले बताए । यही बीचमा स्मार्ट लगानीकर्ताले सेयर बिक्री गर्दा बजार खसेको उनले बताए ।
यस्तै उनका अनुसार बजारमा अहिल्य नै असार मसान्तको प्रभाव नपरेको बताए । उनले बजार २५८५ विन्दुबाट फर्किनेमा उनी विश्वस्त देखिए ।
अर्का बजार जानकार दामोदर गजुरेलले आजको करेक्सनलाई असार मसान्तकै कारण भएको दाबी गरे । ‘आज होटल र हाईड्रोमा करेक्सन आएका कारण बजार घटेको हो । आजको करेक्सन आन्तरिक कारणले नै भएको हो । इरान र इजरायलको युद्धको प्रभाव तत्कालै नेपाली बजारमा पर्ने देखिदैन । तर बाफियाको विषयले भने लगानीकर्तामा केही त्रास छाएको छ ।’
यो महिना संस्थागत लगानीकर्तादेखि ब्रोकरले सेयर बिक्री गरेर ब्यालेन्स सिट मिलाउनु पने भएकाले पनि बिक्री दबाब आएको उनले तर्क गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.०५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.६८ प्रतिशत, विकास बैंक ०.९७, फाइनान्स १.१२, हाईड्रो २.६९, लगानी ०.९४,जीवन बीमा ०.९८, उत्पादन तथा प्रशोधन १.१४, लघुवित्त १.०६,म्युचुअल फण्ड ०.३१, निर्जीवन बीमा ०.५०, अन्य ०.४८ र व्यापार समूह १.६४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन दोर्दी खोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७५ करोड ७३ लाख बढीको कारोबार भयो । बुटवल पावरको पनि आज ७४ करोड ५८ लाख, राधी विद्युतको ४९ करोड ७२ लाख, सानिमा माई हाईड्रोको ४६ करोड ५६ लाख र ङादी ग्रुप पावरको ४१ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । जोशी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।
यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.६० प्रतिशत र गुराँस लघुवित्तको ३.४० प्रतिशतले बढ्यो ।
पियोर इनर्जीको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । युनियन हाईड्रोको सेयरमूल्य पनि आज ६.२४ प्रतिशत, रसुवागढी हाईड्रोपावरको ५.४८,हिमालयन उर्जाको ५.३३ र मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्य ५.२० प्रतिशतले घट्यो ।