काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८२ प्रतिशत अर्थात २२.०४ अंकले बढेर २ हजार ७०७.८५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ४६४.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन भने ६ अर्ब ५७ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजारमा असार महिनाको क्लोजिङको प्रभाव सकिएका कारण सप्लाई घटिरहेको छ र माग बढ्दै गईरहेको छ । यही कारणले आज सेयर बजारमा सुधार आएको हो ।’
आगामी मौद्रिक नीतिमा बैंकहरुलाई सहज हुनेगरी सकारात्मक नीति आउने सम्भावना समेत रहेको उनले बताए । यही कारण पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु पनि न्यून विन्दु रहेको सेयरहरुमा लगानी गर्दा आज बैंकिङ समूह सर्वाधिक बढेको उनको ठम्याई छ ।
यसैगरी सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले बजार बढ्नुको विकल्प नरहेको बताए । ‘सबै विषय सकारात्मक छन् र लचक मौद्रिक नीति आउने सम्भावनाले बजारले गति लिने देखिन्छ । यही कारण आज सूचक र कारोबार दुवैमा सुधार आएको छ,’ उनले भने
उनले लगानीकर्ताको मनोबल बढ्दा बजारमा हरियाली छाएको बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक अर्थात १.९० प्रतिशतले बढ्यो । विकास बैंक समूह ०.२३ प्रतिशत, हाईड्रो ०.५६, लगानी १.५०, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन १.०२, लघुवित्त ०.८५, निर्जीवन बीमा ०.२०, अन्य ०.२७ र व्यापार समूह ०.४४ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड ७१ लाख बढीको कारोबार भयो । बुटवल पावरको पनि आज ३६ करोड ६७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड १८ लाख, गार्डियन माइक्रो लाइफको ३१ करोड ८५ लाख र नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । बरुण हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.२१ प्रतिशतले बढ्यो । पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य पनि आज ४.२८ प्रतिशत,एनआईसी एशिया बैंकको ३.९३ र सिईडिबि होल्डिङ्ग्सको सेयरमूल्य ३.८८ प्रतिशतले बढ्यो ।
ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सबैभन्दा बढी घट्यो । यो कम्पनीको सेयरमूल्य आज ४.४१ प्रतिशतले खस्कियो । पिपुल्स हाईड्रोको सेयरमूल्य पनि आज २.७७ प्रतिशत र राप्ती हाईड्रोको सेयरमूल्य २.४४ प्रतिशतले घट्यो ।