काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेका छन् ।
नेपाल राष्ट्र बैंकले आव आव २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ६ प्रतिशतमा झारेको हो ।
त्यस्तै, यता निक्षेपदर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ । यसका साथै नीतिगतदर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा कायम गरेको छ ।
राष्ट्र बैंकले आगामी आवका लागि ब्याजदर करिडोरलाई थप सुदृढ बनाई बैंकदर ६ प्रतिशत, निक्षेपदर २.७५ प्रतिशत र नीतिगतदर ४.५ प्रतिशत बनाएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अपेक्षा गरेको अन्तरबैंक कारोबारमा प्रयोग हुने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमालाई ब्याजदर करिडोर भनिन्छ ।
दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गित गर्ने गर्दछ । स्थायी तरलता सुविधा उपलब्ध हुने दरले माथिल्लो सीमा र निक्षेप सङ्कलन दरले तल्लो सीमाको रूपमा काम गर्दछ । यी दरहरू मौद्रिक नीतिले आवश्यकता हेरिकन समयसमयमा परिवर्तन गर्दछ ।