काठमाण्डौ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट झण्डै डेढ खर्बको सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो ।
यो रकम अघिल्लो आवको तुलनामा ५६.१७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंक वित्तीय संस्थाहरुबाट जम्मा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समिक्षामार्फत सेयर धितोकर्जामा लगाएको १५ करोड रुपैयाँको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएपछि बैंक तथा वित्तीय संस्थाहरुबाट यस्तो कर्जा प्रवाह ह्वात्तै बढ्न पुगेको हो ।
बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ ।
लगानीकर्ताहरुले पनि आफ्नो नाममा भएको सेयर बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थपिँदै गएसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो राखेर कर्जा लिनेको संख्या पनि बृद्धि भएको छ ।
गत आवमा वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । जुन यो अघिल्लो आवको तुलनामा ६६.०५ प्रतिशत बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुबाट ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।
गत आवमा सबैभन्दा बढी यस्तो कर्जा प्रवाह गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले १६ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ ।

एनआइसी एशिया बैंक बाहेक सबै बैंकको यस्तो कर्जा प्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ । सबैभन्दा बढी ग्रोथ देखिनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकको यस्तो कर्जा प्रवाह अघिल्लो आवको तुलनामा ४४२.१० प्रतिशत बढेको छ ।
त्यस्तै, यता विकास बैंकहरुको सेयर धितो कर्जा प्रवाह पनि २५.३१ प्रतिशत बढेको छ । गत आवमा विकास बैंकहरुले १९ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत आवमा सिन्धु विकास बैंक र ज्योति विकास बैंक बाहेक सबै बैंकको यस्तो कर्जा प्रवाह बढेको छ ।
यसका साथै फाइनान्स कम्पनीहरुले पनि गत आवमा ४ अर्ब ३५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ४.७४ प्रतिशत बढी हो । अघिल्लो आवमा वित्त कम्पनीहरुले ४ अर्ब १५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।