काठमाण्डौ । अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगनसँगै कमजोर अवस्थाका बैंकहरुको मूल्य रकेटको गतिमा अगाडि बढ्न थालेको छ ।
वित्तीय रुपमा निकै कमजोर रहेका, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा, खराबकर्जा अनुपात निकै दयनीय अवस्थामा रहेका अल्ट्रा लो क्यापका बैंक तथा वित्तीय संस्था र कमजोर अवस्थाका कम्पनीहरुको मूल्य फेरि रकेटको गतिमा बढाउन थालिएको हो ।
निश्चित समूहहरुले कमजोर कम्पनीकै सेयरमूल्यमा चलखेल गरेको भन्दै ५ महिनाअघि नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि कार्यान्वयनमा ल्याइएको थियो । यो नयाँ व्यवस्थाका कारण थोरै कित्ता सेयरको सप्लाई रहेका कम्पनीमा हुने गरेको चलखेल केही कम भए पनि यसले बजारका लगानीकर्ताको मनोबल कमजोर बनाएको भन्दै विरोध सुरु भएको थियो ।
जेनजी आन्दोलनका कारण चौतर्फी रुपमा लगानीकर्ताको मनोबल कमजोर भएको विशेष परिस्थितिलाई आधार बनाएर धितोपत्र बोर्डले १५ मिनेटवाला नियम स्थगनको निर्णय गर्दै सोहीअनुसार गर्न नेप्सेलाई निर्देशन दिएको थियो । त्यसपछि पाँच महिनाअघिकै अवस्थाअनुसार सेयर बजारको सूचक र कम्पनीको मूल्य गणना गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
पुरानो व्यवस्था कार्यान्वयनमा आएसँगै केही महिना सुस्ताएको चलखेल गर्ने समूह फेरि सक्रिय देखिएको छ । जसको ज्वलन्त उदाहरण मंगलबारको सेयर बजारमा देखियो ।
यो दिन नेप्से परिसूचक करिब ५९ अंकले बढेर २६८२ को विन्दूमा पुगेको छ । ५ अर्ब २९ करोड बढीको कारोबार भएको यो दिन सप्तकोशी डेलभपमेन्ट बैंक, जोशी हाइडोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो ।
भूगोल इनर्जी, एशियन हाइड्रोपावर, हिमस्टार उर्जा कम्पनीको मूल्यमा समेत पोजिटिभ सर्किट लाग्यो ।
कालिका पावर, सयपत्री हाइड्रो, महिला लघुवित्त लगायतको सेयरमूल्य समेत पोजिटिभ सर्किट हाराहारीमै बढ्यो ।
*यसअघिको हेडलाइनमा परेको 'खराब' शब्द हटाएर 'कमजोर' राखिएको छ ।
-सम्पादक