काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई कर्मचारीले हिजो राति १२ बजे मात्र छाडिदिएका छन् ।
विगत ५ वर्षदेखि अड्किएको बोनस सम्बन्धी विवाद अदालतबाट निरुपण भए पनि त्यसविरुद्ध सञ्चालक समिति गएपछि आक्रोशित बनेका नेप्सेका कर्मचारीहरुले अध्यक्ष हेमन्त बस्यालको राजीनामा र आफ्ना माग पूराको आवाज उठाउँदै हिजोबाट आन्दोलन थालेका थिए ।
सो क्रममा नेप्से सञ्चालक समितिको तर्फबाट प्रतिनिधित्व गरेका अध्यक्ष बस्याल र सीईओ चूडामणि चापागाईं आफ्ना माग पूरा गर्न तयार नभएको भन्दै कर्मचारीहरुले कार्यकक्षमै थुनेका थिए ।
बिहान ११ बजेदेखि अध्यक्ष र सीईओलाई थुनेका उनीहरुले मध्यरातसम्म पनि ताला खोलिदिएका थिएनन् । कर्मचारीबाट थुनिएका अध्यक्ष र सीईओले जिउज्यानको सुरक्षा माग्दै प्रशासनलाई खबर गरेपछि राति एसपीको नेतृत्वमा प्रहरी टोली नेप्सेमा परिचालन भएको थियो । प्रहरी नै पुगेपछि कर्मचारीहरु केही हच्किएका थिए ।
सो क्रममा पुनः अध्यक्ष र सीईओसँग छलफल भएको थियो । छलफलका क्रममा अध्यक्ष र सीईओसँग कर्मचारीहरुको माग पूरा गराउने विषयमा सकारात्मक सहमति भएको कर्मचारीहरुको दाबी छ । सहमति मौखिक मात्र भएको र त्यसकै आधारमा बस्याल र चापागाईंको कार्यकक्षमा लगाएको ताला राति १२ बजे खोलिएको उनीहरुको भनाई छ ।
हिजो राति भएको सहमति लिखित आज हुनुपर्ने र त्यो नभएसम्म आफूहरुको आन्दोलन जारी रहने कर्मचारीहरुले बताएका छन् । उनीहरुले आज पनि नेप्सेमा तालाबन्दी र प्रदर्शनको कार्यक्रम राखेका छन् ।
नेप्सेका कर्मचारीहरुले बोनस ऐनअनुसार आफूहरुले कम्पनीले गरेको नाफाको ५ प्रतिशत बोनस पाउनुपर्ने माग उठाउँदै आएका छन् । नेप्सेमा हाल करारसहितका ४५ कर्मचारी कार्यरत छन् ।
कर्मचारीले आफूहरुले बोनस पाउने विषय श्रम अदालतबाट निरुपण भई पक्षमा फैसला भइसकेको अवस्थामा अध्यक्ष बस्यालको सल्लाहअनुसार त्यसविरुद्ध नेप्से सञ्चालक समिति सर्वोच्चमा जाने निर्णयमा पुगेपछि आफूहरुले पाउने अधिकारविरुद्ध षड्यन्त्र भएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
उता, नेप्से सञ्चालक समितिका एक सदस्यले भने कर्मचारीहरुले माग गरेअनुसार ५ प्रतिशत बोनस सेयर दिन नसकिने अवस्था रहेको बताए । अदालतको आदेशअनुसार नै निर्णय गर्दा पनि अख्तियारले आफूहरुलाई समात्न सक्ने भएकोले त्यो कार्यान्वयन हुन नसक्ने ती सञ्चालकको भनाई छ ।
कर्मचारी भने अदालतबाट निरुपण नै भइसकेको विषयमा अख्तियार प्रवेश गर्न नमिल्ने र सञ्चालक समितिले अनावश्यक बखेडा मात्र निकालेको दाबी गर्दै आन्दोलनरत छन् ।
नेप्सेले पछिल्ला वर्षहरुमा १ अर्ब भन्दा बढी नाफा कमाइरहेको छ । त्यसको ५ प्रतिशतले कर्मचारीलाई बोनस बाँड्ने व्यवस्था भए कर्मचारीहरु मालामाल हुने देखिन्छ । यदि कर्मचारीको माग पूरा भएको खण्डमा नेप्सेको एउटा सामान्य कर्मचारीले बोनस बापत मात्रै एकमुष्ट १० लाख रुपैयाँभन्दा बढी प्राप्त गर्ने अवस्था बन्नेछ ।
देश अप्ठ्यारो अवस्थामा रहेको र पुननिर्माणको काममा स्रोतको अभाव भइरहेको बेला लगानीकर्ताहरुले तिरेको कर तथा अन्य रकमबाट हुने नेप्सेको नाफाबाट कर्मचारीलाई जथाभावी बोनस बाँड्न नहुने सञ्चालक समितिको अडान देखिन्छ । तर, कर्मचारी भने बोनस पाउने आफूहरुको कानूनी अधिकार रहेकोले यसलाई नछाड्ने अवस्थामा देखिन्छन् ।