काठमाण्डौ। नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेश्नल फ्रेन्च टुरिज्म मार्ट –आईएफटीएम टप रेजा २०२५ नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबले विश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस वर्ष टुरिजम् मार्टसँगै सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहणको ७५ औं वर्ष पुगेको उल्लेख गर्दै बोर्डले नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक महत्वबारे पनि चर्चा गरेको हो ।
हर्जोगको ऐतिहासिक आरोहणले फ्रान्सेली यात्रु र आरोहीलाई दशकौंदेखि नेपाल भ्रमणका लागि प्रेरित गरिरहेको तथ्य पनि बोर्डले स्मरण गराएको छ ।
फ्रान्सेली पर्यटक नेपालका निष्ठावान आगन्तुकका रूपमा चिनिन्छन् । उनीहरूको रोजाइमा एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, लाङटाङ क्षेत्रका
पदमार्गहरू तथा काठमाडौं उपत्यकाका सांस्कृतिक स्थलहरू विशेष प्राथमिकतामा परेका छन् । दिगो र अनुभवमा आधारित पर्यटनप्रतिको माग बढेसँगै नेपाल फ्रान्सेली पर्यटकहरुका लागि अझ आत्मीष गन्तव्य बनेको छ ।
मार्टमा बोर्डले स्थापना गरेको नेपाल पभेलियनमा युरोपेली पर्यटन व्यवसायीहरूले नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे चासो राखेका थिए । मार्टमा सहभागी बोर्डका वरिष्ठ अधिकृत सागर श्रेष्ठ र राजीव झाको नेतृत्वमा बोर्डको टोलीले नेपालको साहसिक, सांस्कृतिक र प्रकृतिमा आधारित पर्यटनबारे जानकारी गराएका थिए । बोर्डसँगै नेपालबाट जर्नी डीएमसी, नमस्ते होलिडेज टुर्स एण्ड ट्रेक्स, फ्रेन्ड्स एड्भेन्चर टिम, एथिकल ट्रेकिङ नेपाल, द ट्रेक नेपाल र हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन गरी छवटा नेपाली ट्राभल कम्पनीहरु सहभागी भएका थिए ।
बोर्डले यस सहभागितामार्फत फ्रान्सेली तथा युरोपेली पर्यटन व्यवसायीहरूसँग साझेदारी गहिरो बनाउन, नेपालप्रतिको आकर्षणलाई सुदृढ पार्न र भविष्यमा थप पर्यटक भित्र्याउन लक्ष्य लिएको जनाएको छ । आईएफटीएम टप रेजा फ्रान्सको सबैभन्दा ठूलो बीटुबी पर्यटन प्रदर्शनी हो, जसले विश्वका पर्यटन बोर्ड,
ट्राभल एजेन्सी र टुर अपरेटरलाई एउटै प्लेटफर्ममा ल्याउँछ । यस प्रदर्शनीमार्फत युरोपेली बजारमा नेपाल प्रामाणिक, साहसिक र दिगो पर्यटन अनुभवका लागि पूर्ण रूपमा तयार रहेको बोर्डले सन्देश दिएको छ ।