काठमाण्डौ । तिहारको बिदापछि पहिलोपटक खुलेको सेयरबजार आज सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.१९ अंकले बढेर २ हजार ५०९.०४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४३७. विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर २ अर्ब ६६ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘अस्थिर सरकारको कारण सेयर लगानीकर्ताहरुमा अझै कन्फिडेन्ट बढ्न सकिरहेको छैन । सरकारले उद्योग धन्दाहरु धमाधम बन्द गरिरहँदा र सूचीकृत केही कम्पनीहरु जेनजी आन्दोलनपश्चात् बन्द हुन पुग्दा लगानीकर्ताको मनोबल खस्किएको छ । बजार अझै १/२ सय तलमाथि हुने सम्भावना उच्च छ, तर यो सामान्य हो । अब लगानीकर्ताको मनोबल बढाउने खालका केही त्यस्तो कुरा आएमा मात्रै बजार बढ्ने देखिन्छ । तर अब यो भन्दा पनि बजार तल नजाला भन्ने आशा छ ।’
त्यस्तै, अर्का बजार जानकार पर्वत विष्टले पनि लगानीकर्ताहरुमा अझै आत्मविश्वास नबढ्दा बजारले गति लिन नसकेको बताए । ‘आज दिनभर घटेको बजार अन्तिममा सामान्य अंकले बढेको छ, तर यो बजारलाई बढेको मान्न सकिँदैन’ उनले भने, ‘तिहारपछि सीमित लगानीकर्ताले मात्रै कारोबार गर्दा बढेको बजार हो त्यसकारण आज जम्मा २ अर्बको मात्रै कारोबार भएको छ ।’
साथै विष्टले बजारको विषयमा तत्कालै अनुमान लगाउन नसकिने बताए । ‘लगानीकर्ता र व्यापारीहरु आफैं आन्दोलित छन् । धितोपत्र बोर्डसँग राखिएका मागहरु कात्तिक महिनासम्ममा सम्बोधन हुने आश्वासन छ । लगानीकर्ताले राखेका मागहरु सम्बोधन भएमा बजार केही हदसम्म माथि जान सक्ने सम्भावना छ ।’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो ।
आज अन्य समूह सर्वाधिक अर्थात ३.०५ प्रतिशतले बढ्यो । यस्तै जीवन बीमा समूह ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.८१ प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.७२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, विकास बैंक ०.२९, होटल ०.५७, हाईड्रो ०.३३, लगानी ०.३४,लघुवित्त ०.२३ र म्युचुअल फण्ड ०.२१ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ४९ लाख बढीको कारोबार भयो । युनियन हाईड्रोको पनि आज १८ करोड ७० लाख, हिमालयन पावर पार्टनरको १० करोड ४८ लाख र हिमालयन डिष्ट्रिलरीको ९ करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । समता घरेलु लघुवित्त आज सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ८.८९ प्रतिशतले बढ्यो ।
हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि आज ७.६३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ७.१० र महिला लघुवित्तको सेयरमूल्य ६.०५ प्रतिशतले बढ्यो ।
तारागाँउ रिजेन्सी होटल्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.१६ प्रतिशतले घट्यो । यस्तै भगवती हाईड्रोको सेयरमूल्य पनि आज ७.१३ प्रतिशत, एशियन हाईड्रोको ५.१६,उन्नती सहकार्य लघुवित्तको ४.७२ र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.६२ प्रतिशतले घट्यो ।

