काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.१६ प्रतिशत अर्थात ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेर ४५५.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर ४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन भने ७ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर फोरममा उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आजको बजार घट्नु सामान्य करेक्सन मात्रै हो । गत साताभरी बढेको बजारमा हिजो र आज सामान्य करेक्सन देखिएको छ, तर यसलाई बजार घटेर तल गएको भन्न मिल्दैन । बजारमा करेक्सन देखिनु नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षा पनि एक हो । लगानीकर्ताहरुले मौद्रिक नीति समिक्षामार्फत बैंकहरुको सेयर कारोबारमा सहज नीति आउने ठूलो अपेक्षा राखेका थिए तर अपेक्षा गरेअनुसार नआएपछि लगानीकर्ताको मनोबल खस्किएको हो । तर मौद्रिक नीतिलाई समग्रमा हेर्दा राम्रै आएको छ । बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर समान बनाइएको छ । बजार बढ्नका लागि थुप्रै सकारात्मक आधारहरु छन् तर लगानीकर्ताहरुले धेरै अपेक्षा गर्दा बजारले लय लिन सकिरहेको छैन ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.९१ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.२६, हाईड्रो ०.२२, उत्पादन तथा प्रशोधन ०.३० र लघुवित्त समूह ०.६१ प्रतिशतले बढ्यो ।
यस्तै आज लगानी समूह सर्वाधिक अर्थात ०.७३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६८ प्रतिशत, होटल ०.०४, जीवन बीमा ०.५१, म्युचुअल फण्ड ०.१७, अन्य ०.१८ र व्यापार समूह ०.१० प्रतिशतले घट्यो । निर्जीवन बीमा समूह पनि आज ०.६५ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन युनाइटेड मोदी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड १० लाख बढीको सेयर कारोबार भयो ।
यस्तै हिमालयन रि इन्स्योरेन्सको १५ करोड ३८ लाख, बन्दिपुर केवलकारको १४ करोड ६७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ५४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै ग्रिन भेन्चर्सको सेयरमूल्य ९.३१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.६६, मनकामना इन्जिनियरिङ हाईड्रोको ५.४४ र युनाइटेड मोदी हाईड्रोको सेयरमूल्य ४.४० प्रतिशतले बढ्यो ।
यो दिन बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक अर्थात ३.९४ प्रतिशतले घट्यो ।

