काठमाण्डौ । खाना पकाउने ग्यासको अभाव खड्किदै गएपछि ग्यास विक्रेता महासंघ नेपालले ग्यासको अनुचित मूल्य लिएर उपभोक्तालाई ग्यास बिक्री गर्नेलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न माग गरेको हो ।
बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
तर, यस्तो विषम परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघको ठहर छ ।
साथै, यस्तो संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।

