काठमाण्डौ । ईरानको सरकारी सञ्चारमाध्यमले ईरानी सेनाले अमेरिकी ए–१० लडाकु विमानलाई खसालेको दाबी गरेको छ। उक्त विमान दक्षिणी ईरान नजिकैको फारस खाडी क्षेत्रमा खसेको जनाइएको छ।
यता, सीबीएस न्यूजसँग कुरा गरेका अमेरिकी अधिकारीहरूले भने ईरानभित्र सञ्चालन गरिएको उद्धार अभियानका क्रममा अमेरिकी विमानहरू पनि आक्रमणको चपेटामा परेको बताएका छन्। उनीहरूका अनुसार एफ १५–ई स्ट्राइक इगल विमानसँग सम्बन्धित सर्च एन्ड रेस्क्यू अभियानमा संलग्न दुई अमेरिकी विमानमाथि गोलीबारी भएको थियो।
सीबीएस न्यूजका अनुसार उद्धार कार्यमा प्रयोग गरिएको ए १० वार्थहग विमानमाथि आक्रमण भएपछि त्यसका पाइलटले खाडी क्षेत्रमा इजेक्ट गरेका थिए र पछि उनलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। तर, उक्त ए–१० विमान र ईरानले दाबी गरेको विमान एउटै हो वा होइन भन्नेबारे अझै स्पष्टता आएको छैन।
उद्धार अभियानमा संलग्न दुई हेलिकप्टरहरूले यसअघि दुर्घटनामा परेको एफ १५–ई स्ट्राइक इगलका दुईमध्ये एक पाइलटलाई सुरक्षित निकालेका थिए। तर, उद्धार गरिएको पाइलटलाई लैजाँदै गरेको हेलिकप्टरमाथि साना हतियारबाट गोली प्रहार हुँदा केही क्रू सदस्य घाइते भएका छन्। हेलिकप्टर भने सुरक्षित रूपमा अवतरण गरिएको र घाइतेहरूको उपचार भइरहेको बताइएको छ।
अर्का पाइलटको खोजी कार्य भने अझै जारी रहेको छ।
ईरानको सरकारी टेलिभिजनले जनाएको अनुसार उक्त अमेरिकी विमानलाई देशको एयर डिफेन्स प्रणालीले स्ट्रेट अफ हरमुज नजिकै निशाना बनाएको हो।

