काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा नेतृत्व परिवर्तन भएको छ। संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले कञ्चन सापकोटालाई कामु (कार्यवाहक) प्रमुखको जिम्मेवारी सुम्पिएको हो।
हालसम्म प्रशासन तथा मानव संसाधन विभाग प्रमुखको रूपमा कार्यरत सापकोटाले अब सीडीएससीको कार्यकारी नेतृत्वको जिम्मेवारी सम्हाल्नेछिन्। यो निर्णय प्रवीण पन्दाकलाई पदबाट हटाउने प्रक्रियालाई औपचारिक रूपमा कार्यान्वयन गरेपछि आएको हो।
यसअघि तत्कालीन नेप्से प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीको कार्यकाल सकिनु अघि नै प्रवीण पन्दाकलाई चार वर्षका लागि सीडीएससीको प्रबन्ध सञ्चालक नियुक्त गरिएको थियो।
सीडीएससी सञ्चालक समितिले नेप्सेको निर्णयलाई अनुमोदन गरेसँगै अब संस्थामा स्थायी सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। हालका लागि सापकोटाको नेतृत्वमा संस्थाको नियमित कार्य सञ्चालन हुनेछ।

