बुटवल, रुपन्देहीको बुटवल–बर्दघाट सडकखण्ड फेरि पनि गम्भीर सडक दुर्घटनाको केन्द्र बनेको छ। गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रोबस र ईभी माइक्रो आपसमा ठोक्किँदा भएको यो दुर्घटनाले दुई जनाको ज्यान लिएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।
बुटवलबाट बर्दघाटतर्फ गइरहेको लु१ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रोबीच ठोक्किँदा दुर्घटना भएको हो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनापछि सडक क्षेत्रमा केही समय यातायात अवरुद्धसमेत भएको थियो।
घाइतेहरूलाई तत्काल उद्धार गरी देवदह मेडिकल कलेजमा उपचारका लागि पुर्याइएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाँकी २७ घाइतेको सोही अस्पतालमा उपचार जारी छ।
प्रहरीका अनुसार मृतकको पहिचान खुलाउने काम भइरहेको छ भने दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।
व्यस्त सडकखण्डमा भएको यो घटनाले सवारी चाप, गति नियन्त्रण र सडक सुरक्षा व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ।

