काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले खोला किनारमा भएका अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्र बनाउँदै धोबीखोलाको बहाव क्षेत्र मिचेर निर्माण गरिएको सात तले घर भत्काउने काम शुरु गरेको छ।
खोलाको राइट अफ वे तथा सार्वजनिक जग्गा समेत अतिक्रमण गरी बनाइएको उक्त भवन हटाउन महानगरले पटक–पटक सूचना जारी गरे पनि घरधनीले अटेर गरेपछि अन्ततः डोजर प्रयोग गरेर भत्काउने प्रक्रिया अघि बढाइएको हो।
भवन भत्काउने कार्य सुरु गर्नुअघि घरभित्र रहेका सामानहरू सुरक्षित रूपमा निकाल्न सुरक्षाकर्मीहरूले सहयोग गरेका छन्।
घरधनीको सम्पत्तिमा सकेसम्म कम क्षति होस् भन्ने उद्देश्यले नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले फर्निचर, खाद्यान्न तथा अन्य घरायसी सामग्री बाहिर निकाल्न सहजीकरण गरिरहेका छन्।

