काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३३ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३३ लाख घाटा व्यहोरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीको कर्मचारी खर्च तथा प्रशासनिक खर्च बढेको छ। कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च २० लाख ५८ हजारबाट बढेर २९ लाख ४७ हजार पुगेको छ । यद्यपी कम्पनीको वित्तीय खर्च ४ करोड ४६ लाखबाट घटेर ३ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ ।
यो अवधिमा कम्पनीको रिजर्भको आकार भने २२ करोड २४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले ८ करोड ५६ लाख अल्पकालिन कर्जा र ६० करोड ३८ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ८० लाख र कुल चालु दायित्व १० करोड ३७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)वार्षिक ०.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५८.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७७.५१ गुणा कायम भएको छ ।

