काठमाण्डौं । नेपालगञ्ज–पोखरा सिधा हवाई सेवा पुनः केही समयका लागि स्थगित गरिएको छ।
करिब पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको बुद्ध एयरको यो उडान यात्रु सङ्ख्या उल्लेख्य रूपमा घट्नु, सञ्चालन खर्च वृद्धि हुनु तथा बजार माग कमजोर बन्नुका कारण हालका लागि रोकिएको हो।
बुद्ध एयर नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको आगमन घट्नु र लामो मलमास अवधिमा यात्रु चाप अत्यन्त न्यून हुनु मुख्य कारण बनेको हो।
त्यसका साथै इन्धनको मूल्यमा भइरहेको निरन्तर वृद्धिले सेवा निरन्तर सञ्चालन गर्न आर्थिक रूपमा थप दबाब सिर्जना गरेको उनले बताए।
२०७८ साल साउन १७ गतेदेखि सुरु गरिएको नेपालगञ्ज–पोखरा सिधा उडान पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन तथा छिटो आवागमन सहज बनाउन हप्तामा तीन दिन सञ्चालन हुँदै आएको थियो।
तर, मंगलबारदेखि यो सेवा अस्थायी रूपमा एक महिनाका लागि स्थगित गरिएको छ।
उडान पुनः सञ्चालन कहिले हुने भन्ने विषयमा हालसम्म स्पष्ट समय तालिका सार्वजनिक गरिएको छैन।
उडान बन्द भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी तथा स्थानीय व्यवसायिक क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
छोटो समयमा पोखरा पुग्ने हवाई सुविधा रोकिएसँगै यात्रुहरू पुनः करिब १४ घण्टा लामो सडक यात्रामा निर्भर हुनुपर्ने अवस्था आएको छ, जसले यात्रा समय, खर्च र असुविधा दुवै बढाएको सरोकारवालाहरूले बताएका छन्।
पर्यटन तथा हवाई सेवा प्रवर्द्धनमा सक्रिय संस्था एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जले निजी क्षेत्रको पहलमा शुरु गरिएको यो सेवा दीर्घकालीन रूपमा टिकाउन सरकारी सहकार्य आवश्यक रहेको जनाएको छ।
नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलका अनुसार उचित सरकारी नीति र समर्थनको अभावमा यस्ता महत्वपूर्ण हवाई सेवा निरन्तर सञ्चालनमा चुनौती देखिएको हो।
उडान सञ्चालन हुँदा पोखरा–नेपालगञ्ज र आसपासका प्रमुख पर्यटकीय गन्तव्यहरू जस्तै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारासम्म पुग्न यात्रा सहज भएको थियो।
साथै भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई समेत नेपालका प्रमुख गन्तव्यहरूमा आवतजावत गर्न सहजता मिलेको व्यवसायीहरूको अनुभव छ।
बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९००डी सिरिज विमानमार्फत यो सेवा सञ्चालन गर्दै आएको थियो।
प्रारम्भिक चरणमा यात्रु चाप राम्रो रहेपनि पछिल्ला महिनाहरूमा इन्धन लागत वृद्धि र यात्रु सङ्ख्या घट्दै जाँदा सेवा निरन्तरता आर्थिक रूपमा चुनौतीपूर्ण बनेको कम्पनीले जनाएको छ।
शुरुमा रु ४ हजार ९३५ देखि रु ७ हजार ६३५ सम्म भाडादर निर्धारण गरिएको यो उडानलाई भविष्यमा दैनिक रूपमा विस्तार गर्ने योजना भएपनि हालको अवस्थाले सेवा अस्थायी रूपमा रोक्नुपर्ने बाध्यता आएको हो।

