काठमाण्डौ । चीनमा विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी कामहरू तीव्र गतिमा भइरहेका छन्। एकातिर अल्ट्रा–फास्ट चार्जिङ प्रविधि विकास भएको छ, जसले केही मिनेटमै ब्याट्री शतप्रतिशत चार्ज गर्न सक्छ, भने अर्कोतिर समय बचत र कार्यक्षमतामा नयाँ स्तर ल्याउँदै चीनको दिग्गज ब्याट्री कम्पनी क्याटएलले आधिकारिक रूपमा आफ्नो पहिलो स्ट्यान्डर्ड ‘चोको स्वाप’ इकोसिस्टम सुरु गरेको छ।
यो लाइट ट्रक ब्याट्री–स्वाप इकोसिस्टमले शहरी लजिस्टिक्सलाई विद्युतीय बनाउन र सञ्चालन लागत घटाउन ठूलो पहलको रूपमा हेरिएको छ। यस प्रणालीमा केवल १२० सेकेन्ड (२ मिनेट) भित्र इलेक्ट्रिक ट्रकको ब्याट्री बदल्न सकिन्छ।
क्याटएलको यो क्रान्तिकारी प्रविधिले लाइट ट्रकहरूको ब्याट्री केवल २ मिनेटमै परिवर्तन गर्न सक्षम बनाउँछ। यसले शहरी लजिस्टिक्स र यातायात क्षेत्रमा ठूलो समय बचत गर्नेछ। कम्पनीका अनुसार २०२६ को अन्त्यसम्म ३,००० भन्दा बढी नयाँ स्वैप स्टेशनहरू स्थापना गर्ने लक्ष्य छ, भने दीर्घकालीन रूपमा सम्पूर्ण चीनभरि ३० हजार स्वाप स्टेशनहरूको नेटवर्क बनाउने योजना छ।
क्याटएलको चोको स्वाप प्रणालीले ब्याट्री स्वापिङलाई मात्र १२० सेकेन्डमा सम्भव बनाउँछ। यो परम्परागत चार्जिङ वा इन्धन भर्ने प्रक्रियाको तुलनामा लजिस्टिक्स फ्लीटको डाउनटाइम निकै घटाउँछ। कम्पनीका अनुसार ८ वर्षको सवारी जीवनचक्रमा यसले इन्धन भर्नु भन्दा २ हजार घण्टाभन्दा बढी समय बचत गर्न सक्छ। साथै, ऊर्जा लागत परम्परागत डिजेल लाइट ट्रकको तुलनामा लगभग आधा हुन्छ।
क्याटएलका मोड्युलर ब्याट्री स्वापिङ स्टेशनहरू यात्रु सवारी र व्यावसायिक लाइट ट्रक (२.७ मिटर देखि ३.७५ मिटर व्हीलबेस) दुवैका लागि उपयुक्त छन्। यी स्टेशनहरू क्याटएलका २५ किलोवाट आवर र ३५ किलोवाट आवर ब्याट्री प्याकसँग काम गर्छन्, जसले यात्रु र व्यावसायिक सवारीबीच ब्याट्री स्वैपिङलाई सजिलो बनाउँछ।
हाल क्याटएलका ग्वाङ्डोङ–हङकङ–मकाओ ग्रेटर बे एरियामा ३१ वटा स्टेशन सञ्चालनमा छन्। कम्पनीको लक्ष्य यस वर्षको अन्त्यसम्म यस क्षेत्रमा १४० स्टेशन स्थापना गर्ने हो। क्याटएलले आफ्नो साझेदार कम्पनी डीएसटीसँग मिलेर २०२६ को अन्त्यसम्म ग्रेटर बे एरियामा ५ हजार ब्याट्री–स्वैप लाइट ट्रकहरू सञ्चालन गर्ने योजना बनाएको छ।
साथै, २०२६ सम्म ३ हजार भन्दा बढी यात्रु तथा लाइट ट्रक स्वाप स्टेशन निर्माण गर्ने लक्ष्य राखिएको छ, जसको अन्तिम उद्देश्य ३० हजार स्टेशनहरू स्थापना गर्नु हो।
क्याटएल केवल लाइट ट्रकहरूमा मात्र सीमित छैन। यसको क्यूजी इकाईले यस वर्ष ९०० हेभी–ट्रक ब्याट्री स्वाप स्टेशन निर्माण गर्ने योजना बनाइरहेको छ। हालै क्याटएलले ग्वाङझाउ पब्लिक ट्रान्सपोर्ट ग्रुपसँग ट्याक्सी ब्याट्री स्वाप नेटवर्कका लागि सम्झौता पनि गरेको छ।

