काठमाण्डौ । अमेरिकी विदेश मन्त्रालयले पर्यटक (बी–टु) र व्यावसायिक (बी–वान) भिसा आवेदनकर्ताहरूका लागि नयाँ ‘प्रिमियम एक्सपेडाइटेड सेवा’ सुरु गर्ने भएको छ। यसअन्तर्गत आवेदकहरूले नियमित भिसा शुल्क १८५ अमेरिकी डलर बाहेक थप ७५० अमेरिकी डलर तिरेर अन्तर्वार्ताको मिति छिटो प्राप्त गर्न सक्नेछन्।
आन्तरिक दस्तावेजअनुसार यो पाइलट कार्यक्रम जुलाई १ देखि डिसेम्बर ३१, २०२६ सम्म सञ्चालन हुनेछ। अतिरिक्त शुल्क तिरेका आवेदकहरूलाई भुक्तानी गरेको १० दिनभित्र भिसा अन्तर्वार्ताको समय उपलब्ध गराउने लक्ष्य राखिएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो सेवा प्रारम्भिक चरणमा चयनित अमेरिकी दूतावास तथा वाणिज्य दूतावासहरूमा मात्र उपलब्ध हुनेछ। कुन–कुन कूटनीतिक नियोगमा सेवा लागू हुनेछ भन्ने विवरण कार्यक्रम सुरु हुनुअघि सार्वजनिक गरिनेछ।
यद्यपि, अतिरिक्त शुल्क तिरेर छिटो अन्तर्वार्ता पाउनु भनेको भिसा स्वीकृत हुने ग्यारेन्टी भने होइन। भिसा स्वीकृति सम्बन्धित कानुनी प्रक्रिया र मूल्यांकनका आधारमा नै निर्धारण गरिने मन्त्रालयले जनाएको छ।
हाल धेरै देशका नागरिकहरूले अमेरिकी भिसा अन्तर्वार्ताका लागि महिनौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ। पछिल्ला वर्षहरूमा भिसा प्रक्रियामा थप कडाइ, विस्तृत पृष्ठभूमि जाँच तथा सामाजिक सञ्जाल गतिविधिको समीक्षा जस्ता उपायका कारण आवेदन प्रक्रिया लामो भएको भन्दै विभिन्न देशबाट गुनासोहरू आउने गरेका छन्।
विदेश मन्त्रालयले पाइलट कार्यक्रमको माग र प्रभावकारिताको मूल्यांकनपछि यसलाई आगामी वर्षहरूमा निरन्तरता दिने वा विस्तार गर्ने विषयमा निर्णय लिने जनाएको छ।

