काठमाण्डौ । अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो र लेदो खस्दा अवरुद्ध बनेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
मंगलबार र बुधबार परेको लगातार वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुदेखि बाजुराको सीमाना लैफुसम्मका विभिन्न स्थानमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि सुर्खेत–हुम्ला सडकखण्डअन्तर्गत खुलालुदेखि लैफुसम्मको सडक पुनः सञ्चालनमा ल्याइएको हो। दुई दिनसम्म अवरुद्ध रहेको सडक आज बिहानदेखि एकतर्फी रूपमा खुला गरिएको प्रशासनले जनाएको छ।
यद्यपि सडकमाथिको भिरालो भूभागबाट ढुङ्गा खस्ने जोखिम अझै कायम रहेको प्रशासनको भनाइ छ। साथै सडक धेरै स्थानमा साँघुरो तथा एकतर्फी सञ्चालनमा रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यात्रु र सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा सतर्कतापूर्वक यात्रा गर्न अनुरोध गरिएको छ। साथै मौसममा थप प्रतिकूलता आए सडक सञ्चालनमा पुनः समस्या आउन सक्ने भएकाले सम्बन्धित निकायको सूचना नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।

