काठमाण्डौ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ बिहीबारदेखि सुरु हुँदैछ। फुटबल इतिहासमै पहिलो पटक ४८ टोली सहभागी हुने यस प्रतियोगितामा आगामी छ सातामा कुल १०४ खेल खेलिनेछन्। उद्घाटन समारोह, पहिलो खेलहरू तथा प्रतियोगितालाई परिभाषित गर्ने विभिन्न घटनाक्रमहरूमा विश्वभरका करोडौं समर्थकहरूको ध्यान केन्द्रित हुनेछ।
जुन ११ को खेल तालिका
विश्वकपको औपचारिक सुरुआत बिहीबार, जुन ११ मा मेक्सिकोमा हुने समूह ‘ए’ का दुई खेलबाट हुनेछ।
मेक्सिको सिटी स्टेडियम, मेक्सिको सिटीमा आयोजना हुने उद्घाटन समारोह स्थानीय समयअनुसार बिहान ११ बजे (नेपाली समय १२.४५)बाट सुरु हुनेछ। उद्घाटन समारोहमा मेक्सिकन तथा ल्याटिन संगीतको विशेष प्रस्तुति रहनेछ।
मेक्सिकन गायक एलिजान्द्रा फर्नान्डे्जले राष्ट्रिय गान प्रस्तुत गर्नेछन्। उनीसँगै अन्य गायक तथा गायिका पनि सहभागी हुनेछन्।
यस्तै, जे् बाल्भिन र ड्यानी ओसियनको प्रस्तुति पनि रहनेछ। उद्घाटन समारोहको मुख्य आकर्षणका रूपमा साकिरा र बर्न ब्वाईले प्रतियोगिताको आधिकारिक गीत पहिलो पटक सार्वजनिक रूपमा प्रस्तुत गर्नेछन्।
उद्घाटन खेलमा आयोजक मेक्सिकोले सोही मैदानमा स्थानीय समयअनुसार दिउँसो १ बजे दक्षिण अफ्रिकाको सामना गर्नेछ।
त्यसपछि, स्थानीय समयअनुसार राति ८ बजे ग्वाडालाहारास्थित एस्टाडियो ग्वाडालाहारा (एस्टाडियो अक्रोन) मा दक्षिण कोरिया र चेकियाबीच प्रतिस्पर्धा हुनेछ।
मेक्सिको भर्सेस दक्षिण अफ्रिकाः भविष्यवाणी के भन्छ ?
फुटबल तथ्यांक विश्लेषक कम्पनी ओप्टाको सुपरकम्प्युटरका अनुसार उद्घाटन खेलमा मेक्सिको स्पष्ट रूपमा बलियो दाबेदार देखिएको छ।
१० हजार पूर्व–खेल सिमुलेसनका आधारमाः
मेक्सिकोको जित्ने सम्भावनाः ६६.३ प्रतिशत
दक्षिण अफ्रिकाको जित्ने सम्भावनाः १४.३ प्रतिशत
बराबरी हुने सम्भावनाः १९.४ प्रतिशत
ओप्टाले समूह ए मा मेक्सिको शीर्ष स्थानमा रहने प्रक्षेपण गरेको छ। त्यसपछि क्रमशः दक्षिण कोरिया, चेकिया र दक्षिण अफ्रिका रहने अनुमान गरिएको छ।
मेक्सिकोका लागि अनुभवी स्ट्राइकर रउल जिमेनेज र १७ वर्षीय मिडफिल्डर गिलबेर्टो मोरा मुख्य आकर्षण हुनेछन्। गोलरक्षक गुईलेरमो ओचाओले विश्वकपमा आफ्नो छैटौँ सहभागिता जनाउँदै नयाँ कीर्तिमान बनाउने अपेक्षा गरिएको छ।
दक्षिण अफ्रिका भने चौथोपटक विश्वकप खेल्दैछ र सन् २०१० मा प्रतियोगिता आयोजना गरेपछि पहिलो पटक विश्वकपमा फर्किएको हो।
मेक्सिकोमा खेल्ने टोलीहरूले प्रतियोगिताकै सबैभन्दा उच्च उचाइ भएका मैदानहरूमा खेल्नेछन्। मेक्सिको सिटी स्टेडियम समुद्री सतहबाट करिब २,२२५ मिटर (७,३०० फिट) उचाइमा अवस्थित छ भने ग्वाडालाहारा करिब १,५६६ मिटर (५,१३८ फिट) उचाइमा रहेको छ।
अत्यधिक टिकट मूल्यप्रति समर्थकहरूको असन्तुष्टि
विश्वकप २०२६ इतिहासकै सबैभन्दा महँगो विश्वकप बन्ने संकेत देखिएको छ। फिफाले पहिलो पटक डाइनामिक प्राइसिङ प्रणाली लागू गरेको छ, जसअनुसार माग बढेसँगै टिकटको मूल्य पनि बढ्छ।
प्रारम्भिक बिक्री चरणमा ५० करोडभन्दा बढी टिकट आवेदन प्राप्त भएका थिए। केही टिकटहरूको मूल्य अत्यन्त उच्च स्तरमा पुगेको छ।
डिसेम्बरमा टिकट बिक्री सुरु हुँदा फाइनल खेलको अधिकतम मूल्य ८ हजार ६८० अमेरिकी डलर थियो। अप्रिलसम्म यसलाई बढाएर १० हजार ९९० अमेरिकी डलर पुर्याइएको थियो।
नयाँ प्रविधि र नियमहरू
फिफा तथा इन्टरनेशनल फुटबल एशोसियसन बोर्डले खेललाई छिटो र निष्पक्ष बनाउन नयाँ नियम लागू गरेका छन्।
मुख्य परिवर्तनहरूः
उन्नत सेमिअटोमेटेड अफसाइड प्रविधि
सेन्सरयुक्त स्मार्ट म्याच बल
थ्रो–इन तथा गोलकिकमा समय खेर फाल्न नदिन दृश्य पाँच-सेकेन्ड काउन्टडाउन
कडा प्रतिस्थापन (सब्स्टीच्युट)नियम
दोस्रो पहेँलो कार्ड, गलत पहिचान तथा गलत कर्नर निर्णयहरूमा भीएआर समीक्षा अधिकार विस्तार
चोटका कारण टोलीहरूलाई झट्का
नेदरल्यान्ड्स
जुरेन टिम्बर कम्मरसम्बन्धी चोटबाट पूर्ण रूपमा निको हुन नसकेपछि विश्वकपबाट बाहिरिएका छन्।
ब्राजिल
वेस्ले फ्रान्का इजिप्टविरुद्धको मैत्रीपूर्ण खेलमा बायाँ तिघ्रामा चोट लागेपछि टोलीबाट बाहिरिएका छन्। उनको स्थानमा इडरसनलाई समावेश गरिएको छ।
ड्रिङ्स् ब्रेक किन विवादित ?
अत्यधिक गर्मीका कारण खेलाडीहरूको स्वास्थ्य सुरक्षाका लागि फिफाले सबै १०४ खेलमा प्रत्येक हाफको बीचमा अनिवार्य तीन मिनेटको हाइड्रेसन ब्रेक राखेको छ।
तर आलोचकहरूले यो नियम आवश्यकभन्दा धेरै व्यापक रूपमा लागू गरिएको भन्दै विरोध गरेका छन्। साथै, ब्रेकका क्रममा प्रसारणकर्ताहरूलाई विज्ञापन देखाउन अनुमति दिइएकाले यसलाई व्यावसायिक हितसँग जोडिएको आरोप पनि लगाइएको छ।
अमेरिकी उद्घाटन खेलमा डोनाल्ड ट्रम्प उपस्थित नहुन सक्ने
डोनाल्ड ट्रम्पले अमेरिका र पराग्वेबीचको उद्घाटन खेलमा सहभागी हुने वा नहुनेबारे सार्वजनिक रूपमा केही बताएका छैनन्।
यद्यपि अमेरिकी सरकारको प्रतिनिधित्व भने रहनेछ। मार्को रुबियो लगायत उच्च सरकारी अधिकारीहरू खेलमा उपस्थित रहने अपेक्षा गरिएको छ।
मेक्सिकी राष्ट्रपति क्लाउडिया शाइनबाम पनि उद्घाटन खेलमा नजाने
क्लाउडिया सिनबाउमाले फिफाबाट प्राप्त उद्घाटन खेलको टिकट आफू प्रयोग नगरी २१ वर्षीया योभेट करेभान्टेसलाई प्रदान गरेकी छन्। योलेटले परम्परागत नाहुआत्ल पोशाक लगाएर नाङ्गो खुट्टाले उत्कृष्ट बल–जगलिङ प्रदर्शन गरी प्रतियोगिता जितेकी थिइन्।
मेक्सिको सिटीमा विरोध प्रदर्शन
विश्वकपको उद्घाटन खेल नजिकिँदै गर्दा मेक्सिको सिटीमा विभिन्न समूहहरूले प्रदर्शन गरिरहेका छन्। शिक्षक सङ्गठन, यातायात मजदुर, किसान तथा बेपत्ता व्यक्तिका परिवारहरूले तलब वृद्धि, पेन्सन सुधार र अन्य सामाजिक माग राख्दै आन्दोलन गरिरहेका छन्। केही प्रदर्शनले विश्वकप तयारीमा समेत असर पारेको बताइएको छ।
यो विश्वकप किन राजनीतिक रूपमा पनि निकै संवेदनशील छ ?
विश्वकप २०२६ खेलकुदभन्दा बाहिरका विभिन्न राजनीतिक र सामाजिक बहसहरूका कारण पनि चर्चामा छ। आप्रवासन नीतिहरू, यात्रा प्रतिबन्ध, गाजा र इरानसँग सम्बन्धित अन्तर्राष्ट्रिय तनाव तथा फिफा अध्यक्ष र अमेरिकी राष्ट्रपतिबीचको निकट सम्बन्धबारे व्यापक चर्चा भइरहेको छ।

