काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको विश्वास थियो कि इरानमाथिको विजयले सम्पूर्ण मध्यपूर्वलाई परिवर्तन गर्नेछ।
तर यो क्षेत्र परिवर्तन त भइरहेको छ, तर उनीहरूले सोचेको जस्तो होइन। उनीहरुले सोचेजस्तो इस्लामिक गणतन्त्र इरान पराजित भएको छैन।
अबको खतरा भनेको लामो र थकाउने स्थायी संकट हो, जुन कहिले प्रत्यक्ष युद्धमा रूपान्तरण हुन्छ र कहिले त्यसबाट बाहिर निस्किन्छ।
इरानी शासनलाई पराजित गर्नु ट्रम्प र नेतान्याहूको सोचभन्दा धेरै कठिन साबित भएको छ। उनीहरूको आँकलन गलत थियो र अब त्यसका परिणामहरूमाथि उनीहरूको नियन्त्रण छैन।
इरानले अमेरिकी अपाचे हेलिकप्टर खसालेको घटना यसको पछिल्लो उदाहरण हो।
यो घटनाले फेरि सम्झाउँछ कि इरानी नेतृत्व अझै पनि अमेरिकी पक्षलाई क्षति पुर्याउन सक्षम छ र यस युद्धमा विजेताको रूपमा बाहिर निस्कने आफ्नो संकल्पबाट पछि हट्ने छैन।
उनीहरूका लागि विजयको अर्थ आफ्नो अस्तित्व कायम राख्नु र प्रतिरोध क्षमतालाई बढाउनु हो । अर्थात् रणनीतिक रूपमा विश्वका सबैभन्दा महत्वपूर्ण जलमार्गहरूमध्ये एक, स्ट्रेट अफ हर्मुजमा आफ्नो प्रभाव र नियन्त्रणको मान्यता स्थापित गर्नु।
राष्ट्रपति र उनका जनरलहरूले हेलिकप्टर क्षतिको प्रतिक्रिया यसरी सन्तुलित गर्न खोज्नेछन् कि उनीहरू कमजोर देखिन नपरोस्, तर साथसाथै लामो र हालसम्म असफल कूटनीतिक प्रक्रियाको सम्भावना पनि जीवित रहोस्।
पुरानो पाठ
ट्रम्प इरानसँग यस्तो सम्झौताको आशामा छन् जसले स्ट्रेट अफ हर्मुज पुनः खोल्न सकोस् र दीर्घकालीन मुद्दाहरूमा वार्ता सुरु गर्न सकोस् । जसको सुरुवात इरानको संवर्धित युरेनियम भण्डार र यसको विस्तृत परमाणु कार्यक्रमबाट हुन्छ।
अमेरिकामा यो युद्धप्रति असन्तोष बढ्दो छ, र ट्रम्प यस्तो बाटो खोजिरहेका छन् जसलाई उनले विजयको रूपमा प्रस्तुत गर्न सकून्। तर यो एक कठिन चुनौती बनेको छ।
ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्हू एउटा पुरानो पाठ सिक्दै छन्– युद्ध सुरु गर्नु सजिलो हुन्छ, तर त्यसलाई स्पष्ट र सफल विजयका साथ समाप्त गर्नु धेरै कठिन हुन्छ।
फेब्रुअरीको अन्त्यमा उनीहरूले इरानसँग युद्धमा आफ्नो देशलाई संलग्न गराएपछि दुवैले भिडियो सन्देश जारी गरेका थिए। उनका शब्दहरूबाट इतिहासमा ठूलो परिवर्तन आउँदैछ भन्ने संकेत मिल्थ्यो।
सन् १९७९ मा शाहको पतनपछि इरानमा शासन गर्दै आएको व्यवस्था अब अन्त्यतर्फ गइरहेको जस्तो देखिन्थ्यो।
फ्लोरिडास्थित आफ्नो रिसोर्ट मार–ए–लागोमा ट्रम्पले इरानी जनतालाई सम्बोधन गर्दै ‘मद्दत आउँदैछ’ भन्ने वाचा दोहोर्याए।
उनले भनेका थिए ‘आज रात म इरानका महान र स्वाभिमानी जनतालाई भन्छु—तपाईंहरूको स्वतन्त्रताको समय आएको छ। सुरक्षित रहनुहोस्, घरबाट ननिस्कनुहोस्, बाहिर धेरै खतरा छ। जब हामी काम पूरा गर्छौं, तपाईं आफ्नो सरकार आफैं लिनुहोस्।’
अर्को बिहान, तेल अभिभको रक्षा मन्त्रालय भवन ‘किरिया’को छतबाट नेतान्हूले पनि यस्तै आत्मविश्वासका साथ सम्बोधन गरेका थिए।
उनले यो सैन्य गठबन्धनले उनीहरूलाई दशकौँदेखि चाहेको लक्ष्य पूरा गर्ने अवसर दिएको बताएका थिए ।
कहाँ भयो गल्ती ?
आफ्नो राजनीतिक करियरभरी नेतान्हूले इजरायलका लागि मुख्य खतरा इरान हो भन्दै आएका छन्। उनले अमेरिकी राष्ट्रपतिहरूलाई इरानमाथि सैन्य कारबाहीका लागि सहमत गराउन प्रयास गरे, तर सफल भएनन्। ट्रम्प यस मामलामा फरक देखिए।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि नेतान्याहूले लामो समयदेखि अमेरिकाको समर्थनमा सैन्य शक्ति प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्न सकिन्छ भन्ने सन्देश दिदैँ आएका छन् ।
तर हालका घटनाहरूले बल प्रयोगको रणनीति अपेक्षित रूपमा सफल नभएको देखाउँछ । ट्रम्पले तत्काल जीतको अपेक्षा गरेका थिए, तर वास्तविकता जटिल साबित भएको छ।
इरान आर्थिक प्रतिबन्ध, भ्रष्टाचार र आन्तरिक समस्याहरूका बाबजुद पनि कमजोर रूपमा ढल्ने अवस्था देखाएको छैन। उनीहरूले इरानी राज्यको दृढता र प्रतिरोध क्षमतालाई कम आँकेका थिए।
खाडी क्षेत्रको असर
संयुक्त अरब इमिरेट्स र बहराइनजस्ता खाडी देशहरू ठूलो आर्थिक र रणनीतिक क्षति भोगिरहेका छन्। खाडी क्षेत्रको स्थिरता र लगानीमा आधारित भविष्य अहिले अनिश्चित बनेको छ।
स्ट्रेट अफ हर्मुजको अस्थिरताले विश्व ऊर्जा बजारमा गम्भीर असर पारिरहेको छ। इरानले आफ्नो रणनीतिक अवस्थालाई प्रयोग गर्दै लामो समयसम्म प्रतिरोध कायम राख्ने नीति अपनाएको देखिन्छ।
उसले क्षेत्रीय संघर्षहरूलाई आपसमा जोडेर दबाब सिर्जना गर्ने रणनीति लिएको छ। इजरायल र अमेरिकाले इरानमाथि दबाब बढाइरहे पनि, यो संघर्ष दीर्घकालीन र जटिल बनेको छ।

