काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ६ लाख कित्ता बढी संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो सुकै कम्पनी तथा व्यक्तिले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
यस्तै प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज,सुर्खेत र धनगढीबाट समेत आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यस्तो आवेदन असार १२ गतेसम्म दिईसक्नु पर्नेछ ।

