काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बितेका २४ घण्टाभित्र सवारी नियम उल्लंघन गर्ने २ हजार २२३ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व संकलन भएको छ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक संकेन बत्ती उल्लंघन गर्ने १७७ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने ११८ जना रहेका छन्।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ६१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५४ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८ जना तथा एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने १२० जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
यस अवधिमा अन्य विभिन्न प्रकारका सवारी नियम उल्लंघन गर्ने १ हजार २५१ जना चालकसमेत कारबाहीमा परेका छन्।

