काठमाण्डौ । लगातारको अविरल वर्षाका कारण रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रस्थित घमाहा खोला डाइभर्सन डुबानमा परेपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
बिहीबारदेखि जारी वर्षाका कारण खोलामा पानीको बहाव असामान्य रूपमा बढेपछि डाइभर्सनमाथिबाटै पानी बग्न थालेको हो।
सो अवस्थापछि उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नसकिने स्थिति बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
डाइभर्सन पानीले डुबाएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन रोकिएका छन्। यससँगै यात्रुहरू बाटोमै अलपत्र पर्ने तथा लामो दूरीका यात्रुहरूले थप कठिनाइ भोग्नुपरेको छ।
स्थानीयवासीका अनुसार खोलामा एकाएक पानीको सतह बढेपछि केही दिनअघि मात्र निर्माण गरिएको अस्थायी डाइभर्सन पुनः क्षतिग्रस्त भएको हो।
लगातारको वर्षाले सडकमार्ग पूर्ण रूपमा जलमग्न भएपछि यातायात सञ्चालन ठप्प बनेको छ।
प्रशासनले प्रभावित क्षेत्रमा यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
साथै पानीको बहाव घटेपछि मात्र डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सकिने बताइएको छ।
बारम्बार डाइभर्सन अवरुद्ध हुँदा यस क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ।

