आईतवार, श्रावण १०,२०८३ 06:34:35
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:34:35
Bizshala
Global IME Bank Limited

‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्रीको निर्देशन : चुहावट रोक्नुस्, कर प्रणाली पारदर्शी बनाइदिनुस्

‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्रीको निर्देशन : चुहावट रोक्नुस्, कर प्रणाली पारदर्शी बनाइदिनुस्
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ नेतृत्वलाई आगामी आर्थिक वर्षको राजस्व लक्ष्य पूरा गर्ने गरी परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्।

सरकारको राजस्व संकलनमा प्रमुख भूमिका खेल्ने भन्सार विभाग र आन्तरिक राजस्व विभागको नेतृत्व सम्हाल्न लागेका महानिर्देशकद्वय यमलाल भुसाल र डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मंगलबार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री वाग्लेले विशेष निर्देशन दिएका हुन्।

उनले व्यावसायिक वातावरण र करदाताको मनोबल उच्च राख्दै राजस्व संकलनको लक्ष्य भेट्ने गरी ‘मिसन १६ खर्ब’ मा इमानदारीपूर्वक लाग्न आग्रह गरे।

“व्यावसायिक वातावरण बिग्रिन नदिई, करदाताको मनोबल उच्च राख्दै र चुहावट नियन्त्रण गर्दै राजस्व लक्ष्य भेटिने गरी काम गर्नुस्,” मन्त्री वाग्लेले भने, “स्वैच्छिक कर दाखिला बढाउन, कर तिर्ने संस्कारलाई प्रोत्साहन गर्न र प्रणालीगत सुधारका लागि मन्त्रालयले आवश्यक सबै सहयोग गर्छ।”

अर्थमन्त्री वाग्लेले भन्सार र आन्तरिक राजस्व प्रणालीलाई सूचना प्रविधिमा आधारित, चुस्त, पारदर्शी र उत्तरदायी बनाउन पनि जोड दिए। कर तथा भन्सार प्रशासनमा देखिने ढिलासुस्ती, सेटिङ र चुहावटले राजस्व मात्र होइन, राज्यप्रतिको विश्वाससमेत कमजोर बनाउने भन्दै उनले सुधारलाई नतिजामा देखिने गरी अघि बढाउन निर्देशन दिए।

उनका अनुसार भन्सार र कर आम्दानी बलियो बनाउन सके मुलुकको आन्तरिक स्रोत परिचालन क्षमता बढ्नेछ। यसले बाह्य ऋणमाथिको निर्भरता घटाउँदै विकास निर्माणलाई आफ्नै सामर्थ्यबाट गति दिन मद्दत पुग्ने उनको भनाइ छ।

मन्त्री वाग्लेले नयाँ नेतृत्वलाई मातहतका कार्यालयमा गलत काम गर्ने कर्मचारीप्रति कठोर बन्न र इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने वातावरण बनाउन पनि आग्रह गरे। उनले राम्रो काम गर्ने कर्मचारीलाई संरक्षण र पुरस्कार, गलत काम गर्नेलाई कारबाही भन्ने स्पष्ट सन्देश तल्लो तहसम्म पुर्‍याउनुपर्ने बताए।

प्रशासनिक क्षमताका आधारमा अब्बल मानिएका सहसचिवहरूलाई राजस्व प्रशासनको नेतृत्वमा पठाइएको भन्दै मन्त्री वाग्लेले आगामी ६ देखि ८ महिनाभित्रै सुधारको नतिजा देखिने विश्वास व्यक्त गरे।

असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। असार २२ गते मन्त्रालयमा हाजिर भएका उनीहरूलाई क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको हो।

नयाँ जिम्मेवारी पाएका तीनै सहसचिवले अर्थमन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.