काठमाण्डौ । एनसेलले आफ्नो सेल्फ-सर्भिस मोबाइल एपको प्रयोग बढाउन ‘शेक एन्ड विन’ अभियान सञ्चालनमा ल्याएको छ। अभियानअन्तर्गत ग्राहकले एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तत्काल विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।
अभियानमा सहभागी हुन ग्राहकले कुनै शुल्क तिर्नुपर्ने छैन। प्रत्येक २४ घण्टामा एकपटक मोबाइल हल्लाएर नयाँ उपहार प्राप्त गर्न सकिने एनसेलले जनाएको छ।
ग्राहकले निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा अनलिमिटेड पहुँच, डाटा प्याक, लाइफस्टाइल प्रोडक्टमा छुट तथा यात्रा र साहसिक गतिविधिसम्बन्धी विशेष अफर प्राप्त गर्न सक्नेछन्। यसका साथै एनसेलका साझेदार संस्थाबाट उपलब्ध सेवा तथा छुट कुपनसमेत उपहारमा समावेश गरिएको छ।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकलाई सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको बताए।
“‘शेक एन्ड विन’ एनसेल एपमा ल्याइएको पहिलो गेमिफाइड सुविधा हो। यसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै सरप्राइज उपहार जित्ने अवसर दिन्छ,” उनले भने।
कम्पनीका अनुसार अभियानले एनसेल एपको नियमित प्रयोग बढाउने, डिजिटल सेवाबारे ग्राहकको जानकारी अभिवृद्धि गर्ने र एपमा उपलब्ध सेवाको सहज प्रयोगलाई प्रोत्साहन गर्नेछ।
एनसेलले आफ्नो डिजिटल–फस्ट रणनीतिअन्तर्गत ग्राहककेन्द्रित सेवा विस्तार गर्दै दैनिक जीवनमा उपयोगी र सहज डिजिटल अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

