बुधबार, श्रावण ६,२०८३ 01:25:28
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 01:25:28
Bizshala
Global IME Bank Limited

दिल्लीमा विद्यार्थी आन्दोलन चर्कियो, बंगालबाट थप २० कम्पनी सुरक्षाकर्मी झिकाइँदै

दिल्लीमा विद्यार्थी आन्दोलन चर्कियो, बंगालबाट थप २० कम्पनी सुरक्षाकर्मी झिकाइँदै
New Office

 

काठमाण्डौ ।  शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’ (सिजेपी) ले दिल्लीको जन्तर–मन्तरमा सुरु गरेको प्रदर्शन बुधबार थप चर्किएको छ।

बिहानैदेखि हजारौँ प्रदर्शनकारी जन्तर–मन्तरमा भेला भएका छन्। माग सम्बोधन नभए लाखौँ मानिसलाई सडकमा उतार्ने आन्दोलनकारीले चेतावनी दिएका छन्।

सम्भावित तनावलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले संसद् भवन, रफी मार्ग र मध्यदिल्लीका संवेदनशील क्षेत्रमा बाक्लो ब्यारिकेड राखेको छ। भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सीआरपीएफ) का थप २० कम्पनी दिल्लीमा तैनाथ गर्न आदेश दिएको छ।

सीआरपीएफको एउटा कम्पनीमा करिब एक सय सुरक्षाकर्मी रहने भएकाले थप दुई हजार जवान दिल्ली ल्याउन लागिएको बताइएको छ। पश्चिम बंगालबाट सुरक्षाकर्मीलाई हवाईमार्ग हुँदै राजधानी ल्याउने क्रम सुरु भएको छ।

नीटलगायत परीक्षाको प्रश्नपत्र चुहावट र प्रदर्शनकारी विद्यार्थीमाथि भएको प्रहरी कारबाहीविरुद्ध आन्दोलन भइरहेको हो। सोमबारको ‘चलो संसद्’ प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा झडप भएको थियो।

कनट प्लेस, पटेल चोक, रायसिना रोड र इन्डिया गेट क्षेत्रमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। घाइते विद्यार्थीलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ भने एक छात्राको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ।

प्रदर्शनकारीले निषेधाज्ञा उल्लङ्घन गर्दै ढुंगामुढा र आक्रमण गरेको दिल्ली प्रहरीको दाबी छ। घटनामा ११८ प्रहरी घाइते भएको प्रहरीको भनाइ छ। हिंसा र तोडफोडका घटनामा विभिन्न प्रहरी कार्यालयमा ६ वटा एफआईआर दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।

यसअघि मंगलबार दिल्ली प्रहरीले विपक्षी नेता राहुल गान्धी, प्रियंका गान्धी वाड्रा र समाजवादी पार्टीका नेता अखिलेश यादवलगायतलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको थियो।

हिरासतमै राहुल गान्धीले गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित पाँचबुँदे माग सार्वजनिक गरेका थिए। उनले विद्यार्थीमाथि भएको दमनमा संलग्नमाथि कारबाही, आन्दोलनकारीमाथिका मुद्दा खारेजी, प्रश्नपत्र चुहावटबारे संसद्मा बहस तथा प्रधानमन्त्री र गृहमन्त्रीबाट सार्वजनिक माफी मागेका छन्।

शिक्षामन्त्री प्रधानले भने कांग्रेसले विद्यार्थीलाई राजनीतिक हतियार बनाउँदै संसद्को मनसुन अधिवेशन अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन्।

दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै विभिन्न विपक्षी दलका नेता जन्तर–मन्तर पुगेका छन्। विपक्षी नेताको गिरफ्तारी र विद्यार्थीमाथि भएको प्रहरी कारबाहीविरुद्ध केरल, असम र उत्तर प्रदेशसहित विभिन्न राज्यमा पनि प्रदर्शन सुरु भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.